देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सर्वनामको रंगमञ्चमा दस मिनेटका नाटक

देशान्तर

काठमाडौं । बढ्दो थियटर कल्चरसँगै रंगमञ्चमा नयाँनयाँ प्रयोग हुने क्रम जारी छ । पछिल्लो पटक सर्वनाम नाटकघरले ‘दस मिनेट नाटक महोत्सव’ आयोजना गरेर नाट्य प्रस्तुतिलाई छोटो र प्रभावी बनाएको छ । एक सातासम्म सर्वनाममा १० मिनेट अवधिका २५ वटा नाटक प्रस्तुत भए ।  वरिष्ठ रंगकर्मी हरिहर शर्माले अघिल्लो साता खचाखच दर्शक भरिएको हलमा झ्याली पिटेर उद्घाटन गरेको महोत्सवमा एक हप्तासम्म विभिन्न २४ समूहले नाटक देखाएका थिए ।

कुनै बेला नाटक गर्न उत्कट चाहना भए पनि रंगमञ्चको सहज पहुँच नभएका कारण भौंतारिनु परेको आफ्नो विगतलाई स्मरण गर्दै सर्वनामका निर्देशक अशेष मल्लले १० मिनेट नाटक महोत्सव गरेका हुन् । ‘हामीले नाटक गर्न चाहँदा रंगमञ्च पनि पाइएन सहयोग पनि पाइएन । त्यही भएर वर्षाैंसम्म सडकमा नाटक गरेर हिँडियो  । अब नयाँ कलाकारहरूलाई रंगमञ्चको अभाव नहोस् भनेर सबैलाई अवसर दिन यस्तो महोत्सव गरेका हौं ।’, मल्लले भने । 

महोत्सवमार्फत नया रंगकर्मीहरूलाई कला प्रदर्शनको अवसर हुने र सर्वनाम सबैको साझा रंगमञ्चका रूपमा स्थापित भएको उनको बुझाइ छ । ‘अब मैले जस्तो नयाँ पुस्ताका रंगकर्मीले नाटक गर्ने ठाउँ नपाएर भौंतारिनु पर्दैन । सबैका लागि सर्वनाम खुल्ला छ ।’, मल्लले भने । महोत्सवका क्रममा नाटक अध्ययन गरिरहेका प्रशिक्षार्थी समूहदेखि नाट्य क्षेत्रमै वर्षौं बिताइसकेका रंगकर्मीहरूले नाटक प्रस्तुत गरेका थिए । 
सर्वनामका रंगकर्मी राज शाह युवाहरूलाई रंगमञ्चमा आकर्षित गर्ने उद्देश्यका साथ गरिएकोले महोत्सव सफल भएको बताउँछन् ।  देशभरबाट नाटकका लागि आह्वान गरेर छनोट भएका २५ समूहका नाटक महोत्सवमा प्रदर्शन भए । नाटकका लागि लामो विषय, धेरै पात्र र घण्टौं समय चाहिने मानसिकता बढ्दै गएका बेला महोत्सवले १० मिनेटकै अवधिमा पनि रंगमञ्चबाट गहकिलो प्रस्तुति दिन सकिन्छ भन्ने कुरा स्थापित गरेको छ । 

महोत्सवको अन्तिम दिन शनिबार वीरेन्द्र हमालको अशान्ति, सेखु कोइरालाको सुनौलो इतिहासको पुनरावर्तन, प्रतिज्ञा पन्तको अधुरो सपना, दीपक धामीको प्ले अफ लाइफ, सुन्दर लामाको शृंगार, राजेश घिमिरेको ओझेल तथा दिपेश पौडेलको ब्याटल अफ दि फिनेक्सलगायतका नाटकहरू प्रदर्शन गरिएका थिए । सर्वनामले १० मिनेट नाटक महोत्सवलाई हरेक वर्ष निरन्तरता दिने जनाएको छ । 

 

]]>