
काठमाडौं । नेकपा एमालेको भृकुटीमण्डपमा जारी ११औँ महाधिवेशनमा १९ पदाधिकारीका लागि उम्मेदवारी दर्ता भइरहेको छ । अध्यक्षमा केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आमनेसामने भएका छन् । दुवै नेताले आ–आफ्नो प्यानलसहित पदाधिकारीको सूची समेत तय गरेका छन् ।
ओली समूहले महासचिवमा हालकै महासचिव शंकर पोखरेललाई निरन्तरता दिने निर्णय गरेको छ । यता ईश्वर पोखरेल समूहबाट महासचिवका रूपमा सुरेन्द्र पाण्डे उम्मेदवार बनेका छन् । अध्यक्ष ओलीको प्यानलमा पाँच उपाध्यक्षका रूपमा विष्णुप्रसाद पौडेल, रामबहादुर थापा, गुरु बराल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवालीको नाम अघि सारिएको छ । तर महासचिवको दाबी गर्दै आएका ज्ञवालीलाई उपाध्यक्षमा सीमित गरिएपछि उनले असन्तुष्टि जनाउँदै महाधिवेशन स्थल छाडेका छन् ।
पोखरेल समूहले उपाध्यक्षमा अरुण नेपाल, गोकर्ण विष्ट, बिन्दा पाण्डे, परशुराम मेघी गुरुङ र रघुजी पन्तलाई अघि सारेको छ । यसअघि ओली समूहमै रहेका पन्तलाई ओली प्यानलमा स्थान नदिएपछि पोखरेल समूहले उनलाई समेटेको हो ।
उपमहासचिवमा ओली समूहबाट विष्णु रिमाल, रघुवीर महासेठ र लेखराज भट्ट उम्मेदवार बनेका छन् । पोखरेल समूहले भने उपमहासचिवमा योगेश भट्टराई र बैजनाथ चौधरीलाई उठाउने निर्णय गरेको छ ।
सचिव पदका लागि ओली समूहबाट भानुभक्त ढकाल, शेरधन राई, हिक्मत कार्की, राजन भट्टराई, महेश बस्नेत, खगराज अधिकारी, पद्मा अर्याल, यामलाल कँडेल र छविलाल विश्वकर्मा उम्मेदवार बनेका छन् । पोखरेल समूहबाट सचिवमा रचना खड्का, विनोद ढकाल र कर्ण थापाको नाम तय भएको छ ।
महाधिवेशनमा १९ पदाधिकारीका लागि जम्मा तीन जना महिलाको मात्रै उम्मेदवारी परेको छ । ओली प्यानलबाट सचिव पदमा पद्मा अर्याल मात्र महिला उम्मेदवार छन् । उपाध्यक्ष तहमा ओली समूहबाट कुनै पनि महिला उम्मेदवार छैनन् । यता पोखरेल समूहले उपाध्यक्षमा बिन्दा पाण्डे र सचिवमा रचना खड्कालाई अघि सारेको छ ।
यसअघि उपाध्यक्ष रहेकी अष्टलक्ष्मी शाक्यले प्रतिस्पर्धा नगर्ने निर्णय गरेपछि पोखरेल समूहले बिन्दा पाण्डेलाई उम्मेदवार बनाएको हो । प्रारम्भिक सूची अनुसार महिला समावेशिता निकै कमजोर देखिएको छ । यद्यपि दुवै समूहबीच अन्तिमसम्ममा नाम हेरफेर हुन सक्ने नेताहरू बताउँछन् । अहिले पनि महाधिवेशनस्थलमा उम्मेदवारी दर्ता र आन्तरिक छलफल जारी छ ।










Facebook Comments