त्रिपुराकोट । खडेरीका कारण खोलामा पानीको मात्रा घट्दै गएपछि सिँचाइ गर्न डोल्पाली राति खेतमै सुत्न थालेका छन् ।
पानीको समस्या दिन प्रतिदिन बढ्दै गएको छ । दिउँसो सबैले एकै पटकमा सिँचाइ गर्न सम्भव नभएपछि किसान रातिमा सिँचाइ गर्नकै निम्ति खेतमै सुत्नु परेको त्रिपुराकोटका हरि विष्ट बताउँछन् । सिँचाइ गर्न अधिकांश किसान खेतबारीमा दिउँसो जाने भएकाले पानीका लागि झगडा हुने गरेको छ ।
“सहज हुने भएकाले राति ११ बजेपछि सिँचाइ गर्न खेतमा जान्छौँ, पालैपालो खेतमै सुत्ने गरेका छौँ,” उनले भने । त्रिपुराकोटका त्रिपुराकोट, गल्ली, रल्ली र बगरमा सिँचाइ गर्न स्थानीयले नजिकैैको खोलाको पानी प्रयोग गर्दै आएका छन् । तर खडेरीका कारण उक्त खोलाको पानी समेत सुक्दै गएपछि किसान चिन्तित बनेका छन् ।
“सबैलाई सिँचाइ गर्न पानी पुग्दैन्, दिनहुँ झगडा हुन्छ,” त्रिपुराकोटका दिलीप गिरीले भने । खोलानाला सुकेपछि पिउने पानीको समेत समस्या भएको छ । स्थानीयबीच सिँचाइका लागि दैनिक किचलो हुने गरेको छ । पानिकै कारण स्थानीयको एकआपसमा सम्बन्ध समेत बिग्रँदै गएको छ ।
त्रिपुराकोटमा सबैभन्दा धेरै धान उत्पादन हुने भएकाले यहाँ झगडा धेरै हुने गरेको स्थानीय रमानन्द उपाध्याय बताउछन् । कतिपय किसानको धानको बेर्ना समेत सुक्न थालेको छ । उनीहरुले धानको सट्टा मकै लगाउन थालेका छन् ।
]]>
प्रतिक्रिया