देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पर्सामा थपिए ४५ कोरोना संक्रमित, हालसम्म १५ जनाको मृत्यु

देशान्तर

वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायका अनुसार संक्रमित हुनेहरुमा ३१ जना पुरूष र १४ जना महिला रहेका छन् । संक्रमित हुनेमा ५ वर्षकी बालिकादेखि ६२ वर्षका पुरूषसम्म रहेका छन् ।

संक्रमण पुष्टि भएका ४५ मा मास ट्रेसिङ र स्वेच्छाले पैसा तिरेर पीसीआर परीक्षण गराएकाहरु रहेका छन् । मास ट्रेसिङमा पीसीआर जाँच गराएका २९ जना, स्वेच्छाले पैसा तिरेर पीसीआर जाँच गराएका ७ जना र कन्ट्याक्ट ट्रेसिङमा परेका ८ जना रहेको मेसु उपाध्यायले जानकारी दिए ।

साउन १२ गते देखि १६ गतेसम्म स्वाब संकलन गरी नारायणी अस्पतालको प्रयोगशालमा परीक्षण गर्दा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका डा.उदय नारायण सिंहले जानकारी दिए । पर्सामा कोरोना संक्रमितको संख्या ५ सय ७ पुगेको नारायणी अस्पतालका डा. सिंहले बताए ।

यस्तै वीरगञ्जको बयोधा अस्पतालमा उपचाररत एक जना वृद्ध महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । ज्वरो र निमोनिया भएपछि उपचारका लागि बुधबार अस्पतालमा भर्ना भएकी वीरगञ्ज १६ नगवाकी अर्की एक ६८ वर्षीय वृद्ध महिलाको शनिबार दिउँसो मृत्यु भएको नारायणी अस्पतालका डा.निरज सिंहले जानकारी दिए ।

उनमा श्वासप्रश्वासमा समस्या देखिएको थियो । उनलाई बयोधा अस्पतालबाट थप उपचारका लागि नारायणी अस्पताल कोरोना विषेश अस्थायी अस्पताल गण्डकमा ल्याउने क्रममा बाटोमै मृत्यु भएको डा.सिंहले बताए ।

शुक्रबार अबेर राति आएको रिपोर्टमा मृतक वृद्ध महिलामा कोरोना संक्रमण पोजेटिभ देखाएको नारायणी अस्पतालका डा. सिंहले जानकारी दिए । योसँगै पर्सामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ ।