देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सहमतिका लागि दलहरु आन्तरिक छलफलमा

देशान्तर

काठमाडौं । संसदमा प्रधानमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव र  वजेट आश्रित विधेयक कुन पहिले अघि बढाउने भन्ने विषयमा कुरा मिल्न नसकेपछि प्याकेजमै सहमति खोज्न भन्दै शीर्ष दलहरु शुक्रवार पनि छलफलमा जुटेका छन्। 

दलहरुबीच सहमति जुट्न नसकेपछि विहिवार स्थगित गरिएको संसद बैठक शुक्रवार दिउँसो २ बजेका लागि बोलाइएको छ।संसद बैठक अघि प्याकेजमै सहमति जुटाउने प्रयास स्वरुप दलहरु बिहानैदेखि पार्टीभित्र आन्तरिक छलफलमा जुटेका छन्। पार्टीभित्रको छलफल सकिएपछि संसद बैठक बस्नु अघि दुई पक्षीय र त्रिपक्षीय छलफल हुनेछ। यसअघि बिहीबार शीर्ष दलबीच भएको छलफलमा कांग्रेस नेता रामचन्द्र पौडेलले सहमति खोज्न बजेटसँग सम्बन्धित विधेयक पास गर्ने, संसदमा दर्ता अविश्वासको प्रस्ताव फिर्ता लिने, प्रधानमन्त्रीले राजीनामा दिने र नयाँ सरकार गठनको प्रक्रियामा जाने प्रस्ताव राखेका थिए। पौडेलको प्रस्तावले नयाँ तरंग पनि पैदा गरेको छ।

 प्रमुख दलबिच सहमति जुटाउँदै संविधान कार्यान्वयनलाई अघि बढाउन एकमुष्ट अर्थात प्याकेजमै सहमति गर्नुपर्ने पौडेलको प्रस्ताव सकारात्मक रहेको सरकारको नेतृत्वकर्ता दल एमालेले प्रतिक्रिया दिएको छ।  सभामुख ओनसरी घर्ती मगरले संसदमा अविश्वासको प्रस्तावको सूचना दर्ता भइसकेको र यसअघिको मान्यतालाई मनन गर्दै अविश्वासको प्रस्तावलाई मात्रै कार्यसूचीमा राखेर बैठक आह्वान गरेपछि दलहरुबीच ध्रुविकरण सुरु भएको हो। संसदको कार्यसूचीलाई लिएर सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमाले र अविश्वासको प्रस्ताव दर्ता गराएका माओवादी केन्द्र–कांग्रेस गठबन्धनबीच विवाद उत्पन्न भएपछि संसद वैठक स्थगित भएको थियो। 
 
सरकार पक्षीय दलहरुले संसदले पास गर्न बाँकी रहेका तीनवटा आश्रित विधेयकलाई पहिले पारित भएपछि मात्रै अन्य विषयमा छलफल गर्नु पर्ने अडान राखेको छ। तर, माओवादी–कांग्रेस गठबन्धनले भने प्रधानमन्त्रीवरुद्ध अविश्वासको प्रस्ताव दर्ता भइसकेकाले पहिले त्यसलाई नै अघि बढाउनु पर्ने अडान राखेका छन्। एमालेले बजेटसम्बन्धी आश्रित विधेयक पारित गर्ने यसअघिको एजेन्डालाई कार्यसूचीबाटै हटाएको र बिहीबार बस्ने संसद बैठकमा उक्त विषयलाई कार्यसूचीमा नराखेर वैठक सुरु गरे संसद चल्न नदिने चेतावनी दिँदै आएको छ। 
 

]]>