देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

१५ औं निजामती दिवस आज विविध कार्यक्रम मनाइँदै

देशान्तर

काठमाडौं । आज १५ औं निजामती दिवस । ‘नतिजामुखी प्रशासन, समृद्धि र सुशासन’ भन्ने मूल नाराका साथ आज देशभर निजामती दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । यसै अबसरमा प्रधानमन्त्री के.पी. शर्मा ओलीले नागरिकको घरदैलोमा गुणस्तरीय सेवा प्रवाहलाई सुनिश्चित गर्न राष्ट्रसेवक कर्मचारीसँग आग्रह गरेका छन ।

शुभकामना सन्देश दिंदै प्रधानमन्त्री ओलीले सूचना प्रविधिको अधिकतम उपयोग गरेर सक्षम र परिणाममुखी सेवा प्रवाह गर्न पनि निजामती कर्मचारीलाई आग्रह गरे । प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमा सरकार र जनताबीचको सम्बन्धलाई सुमधुर बनाउन निजामती सेवाको भूमिका अहम हुने समेत बताए ।
यसैगरि सरकारबाट यस वर्ष पनि सर्वोत्कृष्ट निजामती कर्मचारी छनोट भएनन् । दिवसका अवसरमा एक जना सर्वोत्कृष्ट कर्मचारीसहित ४२ जनालाई पुरस्कृत गर्दै आएको छ । तर अघिल्लो अघिल्लो वर्ष जस्तै यस वर्ष पनि सर्वोत्कृष्ट कर्मचारी छनोट गर्न सरकारले सकेन । यस वर्ष १० जनालाई उत्कृष्ट निजामती पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कार दिने निर्णय गरेको छ । तर २ लाख रुपैयाँ राशीको सर्वोत्कृष्ट निजामती सेवा पुरस्कारको लागि भने कुनै पनि कर्मचारी छनोट भएका छैनन् ।

सर्वोत्कृष्ट निजामती सेवा पुरस्कारको राशी नगद दुई लाख छ । १० जनालाई दिइने उत्कृष्ट निजामती सेवा पुरस्कारको राशी एक लाख र ३० जनालाई दिइने निजामती सेवा पुरस्कारको राशी ५० हजार रुपैयाँ छ ।