काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकार अब झन्डै दोब्बर हुने भएको छ । महामन्त्री पूर्णबहादुर खड्का संयोजकत्वको विधान संशोधन मस्यौदा समितिले १ सय ५० जनासम्मको कार्यसमिति बनाउने गरी विधान संशोधन गर्न सैद्धान्तिक सहमति जुटाएको छ ।
केन्द्रीय कार्यसमिति पूर्ण रूपमा समावेशी बनाउनुपर्ने बाध्यताले अहिलेभन्दा झन्डै दोब्बर हुने अवस्था रहेको समितिका सदस्यहरुले बताएका छन । उनिहरुका अनुसार १ सय २५ देखि १ सय ५० सदस्यीय हुन सक्ने सम्भावना देखिएको छ ।
अहिले ८० सदस्यीय कार्यसमिति छ । पदाधिकारी संख्या बढाउने र नबढाउनेबारे मस्यौदा समिति सदस्यहरूबीचमा सहमति जुटाउने प्रयास भइरहेको छ ।
पार्टी सभापति शेरबहादुर देउवा कार्यसमितिसँगै पदाधिकारी संख्या पनि बढाउनुपर्ने पक्षमा देखिएका छन् । तत्कालीन फोरम लोकतान्त्रिकबाट कांग्रेस प्रवेश गरेका विजयकुमार गच्छदारलाई व्यवस्थापन गर्नकै लागि भए पनि देउवाले पद बढाउन जोड दिएका छन् ।
महाधिवेशनका बेला नेताहरूको व्यवस्थापन सहज हुने भएकाले पदाधिकारी संख्या बढाउन संस्थापन र इतर दुवै पक्ष तयार हुने देखिएको नेताहरुले बताएका छन ।
विधान मस्यौदा समितिका प्रवक्तासमेत रहेका केन्द्रीय सदस्य रमेश लेखकले संरचनागत संशोधनका लागि फरमुल्ला मन्सुरको संयोजकत्वमा उपसमिति बनाइएको र केन्द्रीय कार्यसमिति र पदाधिकारी संख्याबारे छलफल हुने बताए ।
कति संख्याको केन्द्रीय कार्यसमिति बनाउने, पदाधिकारी कति बनाउने भन्नेबारे उपसमितिले एक साताभित्र मस्यौदा तयार गर्ने र त्यसपछि मात्रै औपचारिक छलफल अघि बढाउने लेखकले जानकारी दिए ।
प्रतिक्रिया