देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गणतन्त्रका उच्च पदाधिकारी : श्री ५ कै नामका सवारीमा सरर…

देशान्तर

काठमाडौं । ‘श्री ५’ पद खारेज भइसकेको १० वर्ष बितिसक्दा पनि राजधानीका सडकमा अझै ‘श्री ५ अधिराजकुमार र श्री ५ महाराजाधिराज’का नाममा रहेका झण्डै तीन दर्जन गाडी गुड्ने गरेका छन् ।

सरकारी निकायका पदाधिकारीदेखि राष्ट्रपतिसम्मले प्रयोग गर्दै आउनुभएका गाडी हालसम्म नेपाल सरकारको नाममा नामसारी गरिएको छैन ।  कतिपय गाडीको ‘ब्लुबुक’ भने नवीकरण भइरहेको छ तर श्री ५ कै नाममा नवीकरण हुँदै आएको आजको गोरखापत्र दैनिकमा समाचार प्रकाशित छ ।

नारायणहिटी दरबार सङ्ग्रहालयका प्रमुख रोहित ढुङ्गानाले आफूहरूको चारवटा गाडी प्रयोग भइरहेको जानकारी दिँदै भने, “ती गाडीको प्रज्ञापनपत्र नै नभएकाले नेपाल सरकारको नाममा नामसारी हुन नसकेको हो ।’

राजसंस्था खारेज हुनुअघिसम्म दरबारमा ६५ वटा गाडी थिए । तीमध्ये दरबारको ग्यारेजमा २८ वटा गाडी थन्किएका थिए । थन्किएकैमध्येबाट हालै एउटा गाडी उपराष्ट्रपतिको कार्यालयमा पनि पठाइएको छ । सो गाडी तत्कालीन राजा ज्ञानेन्द्र शाहले प्रयोग गर्ने गरेका थिए ।

अन्तिम राजा ज्ञानेन्द्रले नारायणहिटी दरबार छाड्दा २०६५ साल जेठ ३० गते बुलेट प्रुफ मर्सिडिज बेन्ज कारसहित चारवटा गाडी आफूसाथ लिएर जानुभएको थियो । त्यसअघि उनको निजी आवास निर्मल निवासमा छवटा गाडी दरबारबाटै लगिएका थिए ।  एउटा मर्सिडिज बेन्ज कार मुमाबडामहारानी रत्न शाहलाई दिइएको छ । 

उनी हालसम्म सो गाडी चढेर चारपटक मात्र दरबारबाहिर गएका छन् । सो गाडी दरबार परिसरमा रहेको महेन्द्र मञ्जिलको ग्यारेजमा थन्क्याएर राखिएको छ ।

दरबार सङ्ग्रहालयका अनुसार दरबार मातहतमा रहेका दुईवटा गाडी ‘श्री ५ अधिराजकुमार ज्ञानेन्द्रवीरविक्रम शाह’को नाममा छ भने बाँकी सबै ‘श्री ५ महाराजाधिराज सरकार’को नाममा छ ।  विगतमा कान्छी महारानी (राजा त्रिभुवनकी पत्नी)को नाममा रहेका दुईवटा गाडी श्री ५ महाराजाधिराजका नाममा नामसारी भएको थियो ।

दरबार सङ्ग्रहालयले आफ्ना चारवटा गाडीको नामसारी गर्न दुई वर्षअघि नै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत यातायात व्यवस्था विभागमा सिफारिस पठाएको थियो तर प्रज्ञापनपत्र नभएको भन्दै सिफारिस फिर्ता पठाइएको थियो । त्यसपछि नामसारी गर्ने मामिलामा दरबार सङ्ग्रहालयका पदाधिकारीहरू अग्रसर भएका छैनन् ।

“फेरि प्रज्ञापनपत्र छैन भन्ने जानकारी दिइन्छ”, सङ्ग्रहालय प्रमुख ढुङ्गानाले भने, “प्रज्ञापनपत्र जुटाउनसक्ने अवस्था छैन । त्यसैले नामसारीका लागि फेरि प्रयास गरेका छैनौँ । नेपाल सरकारले विशेष निर्णय गरेर सबै गाडी नेपाल सरकारकै नाममा नामसारी गर्नुबाहेक अरू उपाय छैन ।”

श्री ५ का नाममा रहेका गाडी गृह मन्त्रालय, नेपाली सेना, सामान्य प्रशासन मन्त्रालय, निजामती कर्मचारी अस्पताल, संस्कृति मन्त्रालय, सहरी विकास मन्त्रालय, महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय लगायतले लिएका थिए । केही वर्षअघि उपराष्ट्रपतिका लागि भनेर गृह मन्त्रालयले लगेको गाडी नेपाल प्रहरीले प्रयोग गरेको छ । 

हाल राष्ट्रपतिले प्रयोग गर्ने बा. ४ च २१५४ नम्बरको लिमोजिन गाडी पनि श्री ५ कै नाममा छ । परराष्ट्र मन्त्रालयले विगतमा संयुक्त राष्ट्रसङ्घका महासचिव वान की मुनको नेपाल भ्रमण हुन लागेकाले चाहिएको भन्दै बुलेट प्रुफ मर्सिडिज बेन्ज लिएर गएकोमा हाल दरबार परिसरमा रहेको राहदानी विभागबाहिर अलपत्र छ । 

केही वर्षअघि दरबारका गाडी व्यवस्थापन गर्न एउटा समिति नै गठन भएको थियो ।  समितिले काम लाग्ने गाडी नेपाल सरकारका नाममा नामसारी गरेर चलाउन सकिने र काम नलाग्ने १४ वटा गाडीको दर्ता खारेज गरी सङ्ग्रहालयमा प्रदर्शनीमा राख्न सकिने सिफारिस गरेको थियो । 

सोही समितिको प्रतिवेदनमा थन्किएकामध्ये तीनवटा गाडी सामान्य मर्मत गरी अति विशिष्ट पदाधिकारीलाई र चारवटा विशिष्ट पदाधिकारीलाई दिन सकिने पनि सिफारिस गरिएको थियो । ग्यारेजमा अझै पनि सातवटा बुलेट प्रुफ कार रहेको बताइएको छ ।

यातायात व्यवस्था विभागका प्रवक्ता वसन्त अधिकारीले ‘ब्लुबुक’का आधारमा नामसारी गर्न सकिने बताउँदै भने, “हामीसँग जतिसुकै पुराना गाडीको रेकर्ड छ । त्यसैले ब्लुबुक प्राप्त हुन सकेमा रेकर्ड फेला पार्न सकिन्छ । त्यसैका आधारमा नामसारी गर्न समस्या हुँदैन । त्यसको प्रयास हामी गरिदिन्छौँ ।”

]]>