देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सेनाको कल्याणकारी कोषबाट चार अर्ब ४० करोड लगानी

देशान्तर

काठमाडौं । सैनिक कल्याणकारी कोषअन्तर्गतका निकायमा चार अर्ब ४० करोड ९२ लाख लगानी रहेको छ ।

नेपाली सेना मातहतको उक्त कोषद्वारा आज आयोजित पत्रकार सम्मेलनमा सैनिक विद्यालयका चितवनको जग्गा खरिद, अक्सिजन प्लान्ट, स्वास्थ्य विज्ञान संस्थान, सुनाचुरी इमल्सन प्लान्ट, शुद्ध पिउने पानी प्लान्टलगायत १० कार्यक्रममा सो रकम लगानी भएको जानकारी दिइयो ।

सैनिक कल्याणकारी कोषमा असार मसान्तसम्ममा यथार्थ सम्पत्ति रु ३७ अर्ब ४७ करोड ३ लाख पुगेको कोषका निर्देशक एवम सहायक रथी गौरव तण्डुलले बताए ।

उक्त कोषको मूल धनलाई यथावत् राखेर त्यसबाट आउने ब्याज नेपाली सेनाका बहालवाला तथा भूपू र तीनका आश्रित परिवारको उन्नतिका लागि  शिक्षा, स्वास्थ्य, आर्थिक राहत, आवास र बिमाजस्ता कल्याणकारी कार्यमा खर्च गरिँदै आइएको छ ।

कोष मातहत सञ्चालन भएका विभिन्न राहत र कल्याणकारी योजनाले नेपाली सेनाको बहालवाला तथा भूपूको जीवनस्तर सुधारमा उल्लेख्य सहयोग पुगिरहेको नेपाली सेनाले जनाएको छ । कोषको मुख्य आयस्रोतका रुपमा संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापना कार्यमा खटिएबापत नेपाली सेनालाई उपलब्ध हुने रकम हो ।

नेपाली सेना अहिले विश्वका १४ मुलुकका १५ स्थानमा शान्ति स्थापनार्थ खटिइरहेको छ । शान्ति सेनामा जाने प्रत्येक सकल दर्जाले हाल एक हजार ३६५ डलर प्राप्त गर्दै आएका छन् ।

उनीहरुले प्राप्त गर्ने भत्ताको २२ प्रतिशतसम्म रकम कट्टा गरी अरु विभिन्न कार्यमा खर्च गरेर बचत भएको रकम कल्याणकारी कोषमा दाखिला गर्ने कार्य हुँदै आएको छ ।

नयाँ मिसनका लागि ८५० सैनिक पठाउँदा हतियार र गोलीगठ्ठाबाहेक अन्य खर्चका लागि करिब रु तीन अर्ब बराबर रकम लाग्ने र उक्त रकम चार वर्षमा शोधभर्ना भइसक्ने शान्ति सेना निर्देशक सुरेशराज थापाले जानकारी दिए ।

हाल विश्वका विभिन्न मुलुकमा करिब चार हजारको सङ्ख्यामा नेपाली सैनिक शान्ति स्थापनार्थ खटिइरहेका छन् ।

 

]]>