देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘रक्षा बन्धन’ धुमधामका साथ मनाईदै, प्रदेश २ र ७ मा सार्वजनिक बिदा

देशान्तर

काठमाडौं । आज जनै पूर्णिमा अर्थात् रक्षा बन्धन । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने उपाकर्म, ऋषितर्पणी र रक्षाबन्धन आज विधिपूर्वक स्नान, ऋषि तर्पण र हातमा डोरो बाँधेर मनाइँदैछ ।

सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन तथा विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा रक्षाबन्धनको परम्परा प्रचलित छ ।

कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भनिन्छ । आज काठमाडाँैको पशुपति र मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर, दोलखाको शैलुङ, जुम्लाको दानसाधु एवं नवलपरासीको त्रिवेणीधाम लगायतका ताल, पोखरी र कुण्डमा मेला लाग्ने गर्दछ ।

सार्वजनिक बिदा
प्रदेश नम्बर २ र प्रदेश नम्बर ७ मा आज सार्वजनिक बिदा दिइएको छ । सम्बन्धित प्रदेश सरकारले रक्षाबन्धनका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् ।

प्रदेश २ का सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले बिदाबारे सूचना प्रकाशित गरी जानकारी दिनुभयो । मधेशका जिल्लामा दिदीबहिनी तथा दाजुभाइको प्रेमको प्रतीक मानिएको रक्षाबन्धन धुमधाम साथ मनाइँदैछ ।

यता प्रदेश नम्बर ७ सरकारले पनि आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश ७ ले सूचना टाँस गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको हो । संघीय सरकारले भने जनै पूर्णिमाको बिदा कटौती गरेको छ ।

कञ्चनपुरको कफर््यू ५ घण्टालाई हट्यो
जनै पूर्णिमालाई ध्यान दिंदै भीमदत्त नगरपालिका ४, ६ र १८ नम्बरमा लगाइएको कर्फ्यू आदेश ५ घण्टाका लागि हटाइएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले शनिबार सूचना निकालेर आइतबार बिहान ५ बजेदेखि १० बजेसम्मका लागि कर्फ्यू आदेश हटाएको जनाएको छ ।

५ घण्टाका लागि कर्फ्यू आदेश हटाइए पनि त्यसपछि भने अर्को आदेश नभएसम्मका लागि कर्फ्यू निरन्तर हुने सूचनामा उल्लेख छ ।

‘जनैपूर्णिमा र अन्य कुरालाई लक्षित गरी ५ घण्टाको लागि कर्फ्यू आदेश हटाउने निर्णय भएको छ’, सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्टले भन्नुभयो ‘१० बजेपछि निरन्तर गर्ने भनेका छौं ।’ स्थिति सामान्य बन्दै गए कर्फ्यू आदेशलाई हटाइने उहाँले बताउनुभयो ।