काठमाडौँ । उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले वर्तमान सरकार मधेसका मुद्दा सम्बोधनका लागि प्रयासरत रहेको बताएका छन् ।
‘मधेसका मुद्दा सम्बोधनका लागि सङ्घीय समाजवादी फोरम नेपाल सरकारमा सहभागी भएको हो’, नेपालगञ्जमा शुक्रबार आयोजित पार्टी प्रवेश कार्यक्रममा यादवले भने, ‘संविधान संशोधनका लागि प्रधानमन्त्री समेत तयार हुनुहुन्छ ।’
अध्यक्ष यादवले सरकारले आर्थिक विकास र समृद्धिका लागि लिएको लक्ष्य सबै नेपालीले साथ दिन आवश्यक भएको बताए । कार्यक्रममा शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले तराई÷मधेसमा देखिएको नागरिकता समस्या एक महिनाभित्र समाधान हुने बताए।
‘प्रधानमन्त्री स्वयमले संविधान संशोधनका लागि प्रतिवद्धता जनाउनुभएको छ’, मन्त्री राईनले भने, ‘वर्तमान सरकारले मधेसका समस्या समाधानका लागि काम गर्नेछ ।’
मन्त्री राईले आफ्नो कार्यकालमा बाँकेबासीले अनुभूत गर्नेगरी विकास निर्माण हुने दावी गरे । विकासमा राजनीतिक आवद्धताका आधारमा विभेद नहुने बताउँदै राईले पछाडि परेको क्षेत्र विकासको प्राथमिकतामा रहेको बताए ।
नेपालगञ्जको राँझामा धर्मशाला, महिला डिग्री कलेज, विद्युतीय शवदाह निर्माण र नगरका भित्री गल्ली स्तरोन्नतिका लागि काम सुरु भैसकेको उनको भनाई छ ।
मन्त्री राईले बागेश्वरी मन्दिरमा पर्यटकीय स्थल निर्माण, रानीतलाउ लगायत अन्य पर्यटकीय क्षेत्रको पुननिर्माणका लागि आप्mनो मन्त्रालय मातहत ल्याउन पहल गरिरहेको बताए ।
प्रतिक्रिया