काठमाडौँ महानगरपालिकाको वडा नम्बर १० र २९ को चरम लापारवाहीका कारण वानेश्वर स्थित धोवि खोलाको पुलमा थुपारेको फोहोरले स्थानीय बासिन्दा प्रभावित भएका छन् । दुई वडाबीचको सिमानामा पर्ने धोवि खोलामा थुपारेको फोहोर दुवै वडाले आफ्नो क्षेत्रधिकार भित्र नपर्ने भन्दै उठाउन आनकानी गरेका छन् ।
दुवै वडा कार्यालयमा गएर समस्या राख्दा पनि कुनै सुनुवाई नभएको भन्दै स्थानीय आक्रोशित भएका छन् । स्थानीयहरुका अनुसार फोहोर ठेकेदारले महिनावारी २ सय ५० उठाउने गरेपनि दुई तीन महिनादेखि फोहोर उठाएका छैनन् ।
फोहोरको पैसा वडा नम्बर २९ का फोहोर ठेकेदारले उठाउने गरेको तर फोहोर उठाउने बेला वडा कार्यालयले आफ्नो क्षेत्रधिकार भित्र नपर्ने गैर जिम्मेवारीपूर्ण अभिव्यक्ति दिने गरेको स्थानीयको भनाई छ ।
Living with Environment संस्थाले शनिबार धोवि खोलामा थुपारेको फोहोरको बारेमा दुवै वडाका अध्यक्षहरुको ध्यानाकर्षण गरएको संस्थाका अध्यक्ष आकाश चौहानले बताए । तर २९ नम्बर वडाका अध्यक्ष कमल राणाले अपशब्द प्रयोग गर्दै गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको उनले सुनाए । जनताको प्रतिनिधि भएर जनताको गुनासो नसुन्ने र काम नगर्नु दुर्भाग्यपूर्ण हो, उनले भने ।
जनप्रतिनिधिको लापारवाहीले उठ्न नसकेको फोहोरलाई आफुहरुले महानगरपालिकाको गाडी बोलाएर सरसफाई गरेको उनले बताए ।
Living with Environment संस्थाले आजदेखि काठमाडौं, वीरगंज, दाङ र बुटवालमा एकैसाथ क्लिन नेपाल अभियान सुरु गरेको छ । सोही अभियान स्वरुप आज त्यस क्षेत्रको सरसफाई गरेको हो । संस्थाका अध्यक्ष आकाश चौहानको अगुवाईमा भएको सरसफाई कार्यक्रममा महासचिव सम्झना गिरी, विना विष्ट, सुमित गौतम लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया