देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एसियाली खेलकुदको महाकुम्भ एसियाड आजदेखि सुरु हुँदै

देशान्तर

काठमाडौँ । एसिया महादेशको सबैभन्दा ठूलो खेल महोत्सव एसियन गेम्स (एसियाड) को औपचारिक उद्घाटन शनिबार हुँदैछ । इण्डोनेसियाको सेन्ट्रल जाकार्तामा रहेको गेलोरा बुङ कार्नो रङ्गशालामा उद्घाटन समारोह हुनेछ । नेपाली समयानुसार बेलुका सवा ६ बजे इण्डोनेसियाका राष्ट्रपति जोको विडोडोले उद्घाटन गर्ने छन् ।उद्घाटन समारोहलाई रङ्गशालामा ७६ हजार दर्शकले प्रत्यक्ष अवलोकन गर्नेछन् । समारोहमा इण्डोनेसियाका चर्चित कलाकार अन्गुन, राइसा, टुलुस, इडो कोण्डोलोगिट लगायतले आफ्नो प्रस्तुति दिनेछन् ।

उद्घाटन समारोहमा नेपालबाट खेलाडी, प्रशिक्षक, अफिसियल गरी ८० जना सहभागी हुनेछन् । नेपाली टोलीको नेतृत्व युवा तथा खेलकुदमन्त्री जगतबहादुर विकले गर्नेछन् । एसियाडमा ४५ देशका ११ हजार ५०० खेलाडी सहभागी हुनेछन् । ४० खेलका ४२० स्पर्धामा प्रतिस्पर्धा हुनेछ । इण्डोनेसियामा सन् १९६२ मा पनि एसियाडको चौथो संस्करण भएको थियो ।

इण्डोनेसियाका सर्वाधिक ९५१ खेलाडीले प्रतिस्पर्धा गर्ने एसियाली खेलकुदमा समग्रमा सबैभन्दा बढी स्वर्ण जितेको चीनले ८७९ खेलाडी सहभागी गराएको छ । त्यस्तै थाइल्याण्डले ८१६, दक्षिण कोरियाले ८०७, चाइनिज ताइपेइका ५५८ र भारतका ५७२ खेलाडी सहभागी छन् ।

एसियाडमा नेपालबाट विभिन्न २९ खेलमा खेलाडी, प्रशिक्षक, व्यवस्थापक, अफिसियललगायत गरी जम्मा २८५ जना सहभागी हुँदैछन् । जसमा १८५ खेलाडी (पुरुष १२९ र महिला ५६), प्रशिक्षक ४८, व्यवस्थापक २४, अफिसियल २७ र दोभाषे १ रहेका छन् । नेपालले सहभागिता जनाउने २९ खेलमध्ये २३ खेल जाकार्ता र बाँकी ६ खेल पालेम्वाङमा हुनेछ ।

नेपालले आर्चरी, एथलेटिक्स, बास्केटबल (थ्री अन थ्री), ब्याडमिन्टन, बक्सिङ, फेन्सिङ, गोल्फ, जुडो, कराते, कबड्डी, पौडी, तेक्वान्दो, टेबलटेनिस, भलिबल, भारोत्तोलन, उसु, कुराँस, पेनकेक सिलात, कुस्ती, स्क्वास, साइक्लिङ, फुटबल, प्याराग्लाइडिङ, लनटेनिस, सुटिङ, ट्रायथलन, सेपाकताक्रो, स्पोर्टस् क्लाम्बिङ र स्केटबोर्डमा सहभागिता जनाउँदै छ । दुई संस्करणबाहेक सबै एशियाडमा सहभागिता जनाएको नेपालले हालसम्म एक रजत र २२ कास्य गरी २३ पदक जितेको छ ।