काठमाडौं । भारतको केरला राज्यमा आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ३ सय २४ पुगेको छ । केरला राज्यका १३ जिल्लामा केही दिनदेखि भइरहेको भीषण वर्षाका कारण आएको बाढी र पहिरोका कारण ठूलो क्षति भएको हो ।
केरलाको पछिल्लो एक सय वर्षको इतिहासमै सबैभन्दा ठूलो बाढी आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । केरला सरकारले कासरगोडबाहेक सबै जिल्लामा रेड अलर्ट जारी गरेको छ । मौसम विभागले अझै केही दिन बाढीको सम्भावना रहेकाले सतर्कता अपनाउन अपील गरेको छ । केरलाका मुख्य मन्त्री पिनराई विजयनले उद्धारको काम तीव्र गतिमा भइरहेको जानकारी दिएका छन् ।
उनले बाढीमा फसिरहेकाहरुको सूचना दिएर उद्धारमा सहयोग गर्नसमेत अपील गरेका छन् । बाढीबाट विस्थापित भएका दुई लाखलाई शिविरमा राखिएको छ । केरला सरकारले बाढी प्रभावितका लागि ५ लाख अट्ने शिविर निर्माण गरेकोमा दुई लाख मानिस जम्मा भइसकेको बताइएको छ । (एजेन्सी)
प्रतिक्रिया