देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

छलफल नै नगरी एमाले-माओवादीले महाअभियोग प्रस्ताव दर्ता गराएकोमा काँग्रेस असन्तुष्ट

देशान्तर

काठमाडौं । व्यवस्थापिका–संसद्को ठूलो दल नेपाली काँग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसदमा महाअभियोगको प्रस्ताव दर्ता गराएको भन्दै असन्तुष्टि जनाएको छ ।

सत्तारुढ प्रमुख घटक दलसँग छलफल नै नगरी एकलौटी ढङ्गवाट महाअभियोग प्रस्ताव ल्याइएको भन्दै असन्तुष्ट काँग्रेसले उक्त प्रस्तावबारे केन्द्रीय समितिमा व्यापक छलफल गरी आवश्यक निर्णय लिने भएको छ ।

सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आजदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा बोल्ने अधिकांश सदस्यहरुले सत्ता साझेदार ठूलो दलसँग छलफल नगरी एक्कासि महाअभियोग प्रस्ताव ल्याइएकोमा आपत्ति जनाउँदै नेतृत्वसँग जवाफ माग गरेका छन् ।

यद्यपि, उक्त विषय सार्वभौम संसद्मा प्रवेश गरिसकेकाले त्यसबारे विवेकपूर्ण निर्णय लिने काँग्रेसले जनाएको छ ।

महाअभियोग प्रस्ताव संसद्को विषय बनिसकेकाले यसबारे संसदीय दलमा पनि छलफल हुने र त्यही अनुरुप सदस्यको राय परामर्शका आधारमा पार्टीले पनि संसदीय दललाई निर्देशन दिने केन्द्रीय सदस्य दीलेन्द्रप्रसाद बडूले सञ्चारकर्मीलाई जानकारी दिए ।

उनका अनुसार आजको बैठकमा संविधान संशोधन, राज्य पुनःसंरचना, पार्टी सञ्चालन र साङ्गठनिक स्वरुप, सरकारमा पार्टीको भूमिका तथा अख्तियार प्रमुखविरुद्ध महाअभियोग प्रस्तावबारे छलफल भएको छ ।

बैठकको सुरुवातमै काँग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीसँग छलफल नै नगरी एकलौटी ढङ्गले अख्तियारका प्रमुख आयुक्तविरुद्ध महाअभियोग प्रस्ताव ल्याइएको भन्दै यसबारे सबै सदस्यको धारणा मागेर अन्तिम निर्णय लिने बताएका थिए ।

“सभापतिले भन्नुभोे, छलफलसहित प्रस्ताव आउनुपथ्र्यो”–केन्द्रीय सदस्य बडूले भने, “अब यो बिषय अदालतमा प्रवेश भएको छ, सार्वभौम संसदमा पनि दर्ता भएको छ, तर यसमा काँग्रेसले उहाँ (कार्की)लाई सपोर्ट गरिरहेको छ भन्ने ढङ्गले बुझनु हुँदैन, यो प्रक्रियामा काँग्रेस सहभागी हुने नै भएकाले कार्की विरुद्धको आरोपको सत्यता बुझेर पार्टीले आफ्नो धारणा बनाउँछ ।”

महाअभियोग प्रस्तावबारे बैठकलाई स्पष्ट पार्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले प्रधानमन्त्री पुष्पकमल दाहालले समेत प्रस्तावलाई अस्वीकार गरिरहेको अवस्थामा उनकै दलका मन्त्रीको समेत हस्ताक्षर भएर आएकाले उनले गरेको अस्वीकारको औँचित्य नभएको भन्दै समग्र रुपमा छलफल नै नगरी प्रस्ताव आउनु आश्चर्यको विषय भएकाले यसबारे काँग्रेसले आफ्नो दृष्टिकोण तय गर्नुपर्ने धारणा राखेका थिए ।

उनले आजको बैठकमा संविधान संशोधन अपरिहार्य भएकाले हालसम्मको प्रगति, स्थानीय निकायको संरचनाबारे पार्टीको दृष्टिकोणबारे छलफल भएको जानकारी दिए । मन्त्री निधीले महाअभियोगबारे धेरै छलफल नभएपनि प्रधानमन्त्रीको पार्टीले छलफल नै नगरी प्रस्ताव ल्याएको भन्नेबारे उसको धारणा आएपछि काँग्रेसले थप निर्णय लिने उल्लेख गरे ।

महाअभियोगको नेतृत्व काँग्रेसले लिनुपर्छः मन्त्री थापा
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री गगनकुमार थापाले महाअभियोग प्रस्तावबारे राष्ट्रिय पार्टीको हिसाबले दायँबायाँ नगरी सत्यका पक्षमा निर्णय गर्नुपर्ने बताए।

मन्त्री थापाले भने, “कार्कीलाई अख्तियार प्रमुखमा नियुक्त गर्ने बेला एउटा गम्भीर भूल भएको छ, त्यसमा सबै राजनीतिक दल सहभागी छन् त्यो भूल सच्याउने मौका अहिले काँग्रेसलाई आएको छ, यसबाट काँग्रेस चुक्नु हुँदैन । कार्कीको नियुक्ति जति अपवित्र थियो उनका कर्म कर्तुत त्योभन्दा बढी अपवित्र छन् त्यसैले उनलाई पदमा बस्ने हैसियत छैन, सरासर सत्यको पक्षमा उभिएर काँग्रेसले प्रस्तावलाई समर्थन हैन नेतृत्व गर्नुपर्छ भनेका छौँ ।”

निर्धारित समयभन्दा केही ढिलो गरी सुरु भएको विहीबारको बैठकमा आठ सदस्यले मात्र आफ्नो धारणा राखेका थिए । बैठकमा पार्टी सङ्गठन स्वरुपका सम्बन्धमा छलफल गर्दा पार्टीको ७५ वटै जिल्लामा केन्द्रीय सदस्यलाई खटाई आठ÷दश दिन उतै बसेर यथार्थ वस्तु स्थिति बुझी प्रतिवेदन तयार गरी आवश्यक निर्देशन दिन सदस्यले धारणा राखेको केन्द्रीय सदस्य गुरुराज घिमिरेले जानकारी दिए । बैठक आज (शुक्रबार) विहान ११ बजे पुनः बस्ने काँग्रेसले जनाएको छ ।

]]>