देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसबाट राज्यमन्त्री बन्ने कहिले ?

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसले आफ्नो भागमा परेका मन्त्रालयहरूमा राज्यमन्त्री दसैं अगाडि नै पठाउने निर्णय गरेको थियो । तर दसैं त के तिहार, छठ सकिँदा पनि राज्यमन्त्री पठाउने कुनै सुरसार देखिएको छैन् । दसैं अगाडि दुई तीन पटक राज्यमन्त्रीको शपथ गर्ने मितिसमेत तय भइसकेका समाचार बाहिर आएका थिए । तर दसैं अगाडि पार्टीभित्र सभापति शेरबहादुर देउवाले आन्तरिक सन्तुलन मिलाउन नसक्दा राज्यमन्त्रीको शपथ हुन सकेको थिएन । 

नेपाली कांग्रेसले वर्तमान सरकारमा आठजना राज्यमन्त्री पठाउने टुंगो लगाए पनि सभापतिले पार्टीभित्र आन्तरिक सन्तुलन मिलाउन नसक्दा राज्यमन्त्रीको सिफारिस गर्न सकेका थिएनन् । वर्तमान सरकारमा माओवादीका तर्फबाट चारजना राज्यमन्त्री सहभागी छन् । तर संसद्को ठूलो दल अनि वर्तमान सरकारको मुख्य घटक भएर पनि कांग्रेसले आन्तरिक कमजोरीका कारण राज्यमन्त्री सिफरिस गर्न नसक्दा पार्टी असन्तुष्टिसमेत तीव्र हुन थालेको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहालसँगसँगै पार्टीका दुई नेतालाई सरकारमा पठाएको कांग्रेसले भदौ १० गते १३ नेतालाई सरकारमा पठाएको थियो तर सरकार नेतृत्व गरेको माओवादीले साउन ३० गते नै श्रीप्रसाद जवेगू, धनमाया विक, राधिका तामाङ र सत्यनारायण भगतलाई राज्यमन्त्रीमा सहभागी गराइसकेको छ । दाहाल नेतृत्व सरकार हाल ३१ सदस्यीय छ । साउन २० गते प्रधानमन्त्री शपथसँगै दुई उपप्रधानमन्त्रीसहित ६ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका दाहालले साउन २२ गते र साउन ३० गते दुईपटक मन्त्रिपरिषद् विस्तार गर्दै १८ सदस्यीय बनाएका थिए ।

सरकार बिस्तारसँगै कांग्रेसले राज्यमन्त्री सिफारिस गर्ने तयारी थियो । तर सभापति देउवाले नेपाल विद्यार्थी संघ र महिला संघको महाधिवेशनपछि राज्यमन्त्री पठाउने भनेर पछि सारेका थिए । यो सँगै राज्यमन्त्री पठाउने विषय एकादेशको कथामा परिणत हुन लागेको छ । 

पछिल्लो समयमा लोकमानसिंह कार्कीमाथिको महाअभियोग प्रस्ताव संसद्मा एमाले र माओवादी केन्द्रले कांग्रेससँग छलफल नै नगरी दर्ता गराएपछि त अहिलेको गठबन्धनको विषयमा समेत प्रश्न उठ्न थालेपछि राज्यमन्त्रीका आकांक्षीहरूसमेत निराश हुन लागेका छन् । 

कांग्रेसले अहिलेको सरकारमा उपप्रधान तथा गृह मन्त्रालयसहित १५ मन्त्रालय पाएको छ । सभापति देउवा आफू निकट पाँच, रामचन्द्र पौडेल पक्षका दुई र कृष्णप्रसाद सिटौला समूहका एक नेतालाई राज्यमन्त्री बनाउने तयारीमा छन् । नेता पौडेलले भने आठमा चार आफ्नो पक्षका हुनुपर्ने दाबी गर्दै आएका छन् ।

राज्यमन्त्री सभापति देउवा पक्षबाट अब्दुल रज्जाक, सुवर्ण ज्वारचन, दिलीप गच्छदार, आङ्टावा शेर्पा, दीर्घराज भाट राज्यमन्त्रीसहित सरकारमा सहभागी गराउने तयारी भएको थियो । त्यस्तै, पौडेल पक्षबाट सुरेन्द्र आचार्य, जीवन परियार र सरिता प्रसाईं र दीपक कुइँकेललाई पठाउने तयारी गरिएको थियो ।

 

]]>