देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

१५ वर्षपछि लोडसेडिङको समस्या अन्त्य

देशान्तर

काठमाडौंं। नेपाल विद्युत प्राधिकरणले सोमबारदेखि लोडसेडिङ अन्त्य भएको दाबी गरेको छ । औद्योगिक क्षेत्रमा आइतबारसम्म रहँदै आएको तीनघण्टे लोडसेडिङ सोमबारदेखि अन्त्य भएसँगै अब लोडसेडिङ अन्त्य भएको प्राधिकरणले घोषणा गरेको हो । खोला र नदीमा पानीको वहाव बढेसँगै रन अफ रिभर आयोजनाको उत्पादन बढेको, अर्ध जलाशययुक्त आयोजनाको कुशलतापूर्वक सञ्चालन, कुलेखानी जलाशययुक्त आयोजनाको उपयोग, संरचनागत सुधार र अपुग बिजुली भारतबाट आयात गरी लोडसेडिङ अन्त्य गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी  दिए ।

अहिले हिउँदमा भन्दा १२ देखि १५ प्रतिशतसम्म बिजुली उत्पादन बढेको प्राधिकरणले जनाएको छ । यस्तै, चुहावट पनि ६ प्रतिशत घटाएकाले बिजुलीको माग धान्न सहज भएको प्राधिकरणले जनाएको छ ।ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले औद्योगिक क्षेत्रको लोडसेडिङ पनि अन्त्य गर्न निर्देशन दिए अनुसार औद्योगिक क्षेत्रको लोडसेडिङ पनि अन्त्य गरिएको पनि उनले बताए ।

यससँगै १५ वर्षपछि लोडसेडिङ समाप्त भएको पनि प्राधिकरणले जनाएको छ । सन् २००३ मा सुरु भएको लोडसेडिङ दैनिक १८ घण्टासम्म पुगेको थियो ।प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएपछि कुलमान घिसिङको प्रयत्नमा २०७३ सालको तिहारको लक्ष्मीपूजाका दिनबाट काठमाडौं उपत्यकालगायत मुख्य शहरमा लोडसेडिङमुक्त भएको घोषणा गरिएको थियो ।विद्युत प्राधिकरणले बिजुलीको माग धेरै हुने बिहान र बेलुकाको सयममा सकेसम्म कम बिजुली खपत गर्न अनुरोध गरेको छ ।