देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भीएलएनको नाममा दैनिक दुई करोड ठगी

देशान्तर

काठमाडौं । रोजगारीका लागि मलेसिया जाने कामदारहरूबाट भिसा स्ट्याम्पिङ र बायोमेट्रिक गर्ने नाममा दैनिक दुई करोड रुपैयाँ ठगी भइरहँदा पनि सरकार भने बेखबर बनेको छ । भीएलएन, वान स्टप सेन्टर (ओएससी) सञ्चालन गर्नेहरूले मलेसिया जाने एकजना नेपालीबाट ६ हजार रुपैयाँ गैरकानुनी रूपमा असुल गरिरहेका छन् । देखादेखी यति ठूलो रकम ठगी हँुदा पनि सरकारले नजरअन्दाज गरेपछि यसका विरुद्ध म्यानपावर कम्पनीहरूनै आन्दोलन गर्ने मनस्थितिमा पुगेका छन् । 

हाल मलेसिया भीएलएन नेपाल प्रालि र त्यसअन्तर्गतको वान स्टप सेन्टरले मलेसियाको भिसा प्रोसेसिङमा सिन्डिकेट धन्दा चलाइरहेको छ । म्यानपावर व्यवसायीमध्येकै एकजना रामप्रसाद श्रेष्ठले मलेसियाका माफियाहरूसँग मिलेर यस्तो लुट मच्चाइरहँदा पनि सरकारले कारबाही नगर्नुले ठगीको सञ्जाल माथिल्लो तहसम्म विस्तार भएको आशंका पैदा भएको छ । करिब आठवटा म्यानपावर कम्पनी र ट्राभल एजेन्सीका सञ्चालक श्रेष्ठले भीएलएनको नाममा लुट मच्चाएपछि उनीविरुद्ध अन्य म्यानपावर व्यवसायीहरू नै संगठित हुने तयारी छन् । ‘हामीले भीएलएनको नाममा भइरहेको ठगीबारे पटकपटक सरकारी निकायहरूलाई अवगत गराउँदै आएका छांै । तर सरकारले यसलाई गम्भीरतापूर्वक लिएको पाइएन । त्यसैले अब यो ठगीधन्दा बन्द गर्ने पहल नगर्ने हो भने हामी मलेसिया कामदार पठाउन बन्द गर्छौं’, एकजना म्यानपावर व्यवसायीले देशान्तरसँग भने । 

यस्तो छ ठगीको फेहरिस्त 
हाल (१५ नोभेम्बर २०१६ देखि) मलेसिया जाने नेपालीले भीएलएन, वान स्टप सेन्टरमार्फत भिसा स्ट्याम्पिङका ६ हजार सात सय रुपैयाँ शुल्क तिर्नुपरेको छ । यसमध्ये सात सय रुपैयाँ मलेसिया दूतावासले लिने भिसा स्ट्याम्पिङ शुल्क हो भने बाँकी ६ हजार रुपैया भीएलएन नेपाल प्रालिले सेवा शुल्कबापत गैरकानुनी रूपमा असुल्ने गरेको छ । 
जबकि १५ नोभेम्बर २०१६ भन्दा पहिले भीएलएनको नामबाट मलेसियाको भिसा शुल्क सात सयसहित जम्मा ३२ सय रुपैयाँ लिएर भिसा जारी गर्ने गरिएको थियो । तर १५ नोभेम्बरबाट खुलेको वान स्टप सेन्टरको नाममा पासपोर्ट संकलन केन्द्र खुलेपछि यही कामको लागि एकैचोटी तीन हजार पाँच सय रुपैयाँ वृद्धि गरियो । कुनै म्यानपावर व्यवसायीले सञ्चालन गरेको वान स्टप सेन्टरमा अन्य म्यानपावर व्यवसायीले आफूले पठाउने कामदारको सम्पूर्ण विवरणसहित पासपोर्ट बुझाउनुपर्ने बाध्यता आइपरेपछि उनीहरूले आफूहरूको व्यावसायिक गोप्यता भंग भइरहेको प्रति पनि चिन्ता व्यक्त गरिरहेका छन् । उक्त सेन्टरले पासपोर्ट संकलन गरेर मलेसिया दूतावासमा पुर्‍याएको शुल्क ६ हजार लिएर भिसा दिनलाई १५–१६ दिन लगाउने गरेको छ । 

ठगीको सिलसिलामा यतिमा मात्रै सीमित छैन । मलेसिया जाने कामदारलाई बायोमेट्रिक टेस्टको नाममा पनि मोटै रकम असुल्ने गरिएको छ । अध्यागमन सुरक्षा जाँच (इमिग्रेसन सेक्युरिटी क्लियरेन्स) (आईएससी) अन्तर्गत बायोमेट्रिक जाँचको लागि भन्दै प्रतिव्यक्ति तीन हजार दुई सय रुपैयाँ शुल्क लिइने गरिएको छ । उक्त जाँचको रिपोर्टको २४ घन्टापछि उपलब्ध गराइन्छ र यदि व्यक्ति त्यसमा फेल भएमा तिरेको शुल्क फिर्ता दिइँदैन । यो जाँचका लागि सम्बन्धित नेपालको रोजगारदाता कम्पनीमार्फत मलेसियाको मे बैंकको खातामा ३० अमेरिकी डलर भुक्तान गर्नुपर्छ । तर रकम पठाउने तरिका भने वैद्य होइन । माइग्राम शुल्क भनेर लिइने ३० डलर जम्मा गरेपछि बायोमेट्रिक मेडिकल (अनलाइन) मलेसियास्थित बेस्टनेट एसडीएन. बीएचडीले नेपालमा छनोट गरेका ३९ वटा मेडिकल सेन्टरमा गएर कामदारले बायोमेट्र्रिक (आंैलाको छाप) गरेर रगत, एक्सरे र शारीरिक जाँच गर्नुपर्छ ।

यदि स्वास्थ्य परीक्षण फेल भएमा ३० डलर र रु. ४५ सय फिर्ता हँुदैन । यति गरेर गएको कामदारले फेरि मलेसिया पुगेको एक महिनाभित्र पुन: फोमेमा एबीनामक संस्थामा एक सय ८० रिंगिट बुझाएर मेडिकल जाँच गर्नुपर्छ । यदि उक्त जाँचमा फेल भएमा उक्त कामदारलाई तुरुन्तै स्वदेश फिर्ता पठाइन्छ । जानकारहरूका अनुसार बायोमेट्रिक गर्ने जिम्मेवारी पाएमा बेस्टनेट र फोमेमा दुवै सफ्टवेयर कम्पनी भएको र एकआपसमा प्रतिशोध रहेकोले कामदार बढी मारमा परिरहेका छन् । 

यसरी हाल मलेसिया जाने एकजना कामदारले वान स्टप सेन्टरलाई ६ हजार ७ सय रुपैयाँ, आईएससीलाई तीन हजार दुई सय रुपैयाँ, मइग्रामलाई तीन हजार तीन सय रुपैयाँ, बायोमेट्रिक मेडिकललाई चार हजार पाँच सय रुपैयाँ गरी जम्मा १७ हजार सात सय बुझाउँदै आएका छन् । जबकि पहिला मेडिकल जाँचको लागि दुई हजार ६ सय ५० र भिसा स्ट्म्याप शुल्क रु. सात सय गरेर जम्मा तीन हजार तीन सय ५० रुपैयाँ बुझाए पुग्थ्यो । भिसा शुल्क रु. सात सय र स्वास्थ्य परीक्षण शुल्क रु. दुई हजार ६ सय ५० गरी जम्मा शुल्क रु. तीन हजार तीन सय ५० बाहेक अन्य रकम कामदारले अनाहकमा खर्च गर्नु परिरहेको छ ।

यसरी दैनिक रूपमा दुई करोडभन्दा बढी रकम अवैधानिक रूपमा असुल गरेकोमध्येको धेरै रकम हुन्डीमार्फत मलेसिया पलायन भइरहेको प्रति सरकार बेखबर भने छैन । यसमध्ये मोटो रकम नेपाली सरकारी अधिकारीको खल्तीमा समेत जाने भएकोले उनीहरू चुपचाप लागेको बुझ्न कठिन छैन । तर यसले गर्दा नेपालको सबैभन्दा ठूलो श्रम गन्तव्य मलेसिया माफियाको चंगुलमा गई वैदेशिक रोजगार व्यवसाय नै धराशायी हुने निश्चित प्राय: छ । 

 

]]>