देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सेयर बजारमा अन्योल र त्रास बढ्दै

देशान्तर

काठमाडौं । सेयर बजारको दैनिक कारोबारमा तीव्र उतारचढावले नयाँ लगानीकर्ता त्रसित भएका छन् । अघिल्लो दिनसम्म उच्च अंकको गिरावटले चिन्तित लगानीकर्तालाई सोमबारको कारोबारले केही राहत दिए पनि यस दिनको कारोबारलाई केही विश्लेषकहरूले प्रायोजित वृद्धिको संज्ञा दिएका छन् । बजार बढाउन सानो परिमाणमा कारोबार गरेर जबर्जस्ती सेयर मूल्य बढाइएको विश्लेषकहरूको भनाइले लगानीकर्ता त्रसित भएका हुन्। सेयर किन्ने वा बेच्नेसमेत निर्णय गर्न नसकेका लगानीकर्तालाई सोमबारको अस्वाभाविक उतारचढावले झनै द्विविधामा पारेको छ।

सेयर बजारको सूक्ष्म विश्लेषण गर्ने अधिकांश विश्लेषकहरूले नेपाल स्टक एक्सचेन्ज नेप्सेको पाँच वर्षे बुल साइकल सकिएको बताइरहेकै बेला सोमबार कारोबारको मध्य समयसम्म बजारमा उच्च अंकको गिरावट आयो। कारोबारको मध्ये समयमा सेयर लगानीकर्ता संघले अर्थमन्त्री कृष्णबहादुर महरालाई भेटी सेयर बजारलाई सम्बोधन गर्न आग्रह गरेका थियो। सो आग्रहअनुरूप मन्त्री महराले मार्जिन लेन्डिङ खुकुलो बनाउने सन्दर्भमा राष्ट्र बैंकका गभर्नरसँग छलफलमा पहल गर्ने भनेपछि नेप्से परिसूचक ‘बाउन्स ब्याक’ भएको हो।

सोमबारको उतारचढावमा स्वाभाविक नभएको बताउँदै लगानीकर्ता संघका उपाध्यक्ष ताराप्रसाद फुल्लेलले भने, ‘बजार स्वाभाविक रूपमा चल्नुपर्छ।’ सेयर बजारमा पछिल्लो समयमा सेयरको आपूर्ति धेरै भएकाले पनि निरन्तर घट्दो क्रममा रहेको उनले बताए। यस्तै, पछिल्लो समयमा निरन्तर घट्दो गतिमा रहेको सेयर बजारमा सोमबारको उचारचढाव स्वाभाविक नभएको सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत धु्रव तिमिल्सिनाले बताए। नेप्से १ हजार ८ सयबाट निरन्तर घटेर निश्चित विन्दुमा पुगेको अवस्था फर्कनु स्वाभाविक भएको उल्लेख गर्दै तिमिल्सिनाले भने, ‘निरन्तर बढ्ने वा घट्ने मात्रै नहुनु बजारको प्रक्रिया हो।’ कारोबार सुरु हुँदाको घटाई अनुसारको बढाइ स्वाभाविक नदेखिएको उनको भनाइ छ ।

‘मन्त्री नै अग्रसर भएको हल्लाले लगानीकर्ताको आत्मविश्वास बढेको हुनसक्छ,’ उनले भने।  सेयर बजारको अवस्थाअनुसार लगानीको व्यवस्थापन गर्ने लगानीकर्ता स्वयं भएकाले किन र बेच भन्न नमिल्ने उनको तर्क छ। सोमबारको बजारको उतारचढावमा कुनै परिवर्तन नभएको नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले बताए । ‘बजार यसरी फर्कनुपर्ने कारण केही छैन,’ उनले भने, ‘यस्तो उतारचढावलाई बोर्ड र नेप्से विशेष रूपमा हेर्नुपर्छ।’

लगानीकर्ता संघले बजार घटेको विषयमा अर्थमन्त्रीलाई भेटेर सेयर धितो कर्जामा भएको कडाइलाई खुकुलो बनाउन आग्रह गरेको छ। संघले मन्त्री महरालाई भेटेको र मन्त्रीबाट सकारात्मक संकेत पाएको सूचनाले सेयर बजार दोस्रो सर्किटपछि बढ्न थाल्यो। निरन्तर बढेर बन्द हुँदा ४० अंकको सुधारसहित बन्द भयो। मन्त्री महराले राष्ट्र बैंकसँग मार्जिन लेन्डिङ खुकुलो गर्ने सन्दर्भमा छलफल गर्ने आश्वासन दिएको लगानीकर्ता संघका उपाध्यक्ष ताराप्रसाद फुल्लेलले बताए । घट्दो बजारमा बैंकमा सेयर धितो राखी लगानी गरेका सेयर लगानीकर्ताका लागि मार्जिन कलको समस्या हुन्छ।

मार्जिन लोन खुकुलो भएमा बैंकबाट कर्जाको ब्याज र सावाँ तिर्ने कल तत्काल आउँदैन । सोमबार बजार बढेको गतिअनुसार कारोबार रकममा पनि १ अर्बभन्दा माथि पुगेको भए पनि बल्क सेयरको कारोबार भने भएको छैन । सोमबार कारोबार सुरु भएदेखि घट्न थालेको नेप्से करिब २ घण्टासम्म ६४ अंकले घटेको थियो । त्यसपछि घट्ने क्रममा कमी आउन थाल्यो। घट्ने क्रममा कमी मात्र नभई सुधारकै गति लिएर ४० अंकले बढेर बन्द भयो। कारोबार दैनिकमा मा समाचार छ ।  

]]>