देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बेनी–जोमसोम–कोरला सडक स्तरोन्नति हुँदै

देशान्तर

बेनी । बेनी–जोमसोम–कोरला सडकखण्डको स्तरोन्नति गरी उत्तरी नाका चीनसँग द्विपक्षीय व्यापार विस्तार गर्ने सरकारी योजनाअनुसार बेनी–जोमसोम हुँदै नेपालको उत्तरी नाका कोरलासम्मको सडकको स्तरोन्नति हुने भएको छ ।  साँघुरो र जोखिमपूर्ण बेनी–जोमसोम–कोरला सडकमा सवारी सञ्चालन भइरहे पनि सडकको स्तरोन्नति गरी पर्यटकीय र व्यापारिक केन्द्रमा स्थलमार्गको पहुँच बढाउन दुई छुट्टाछुट्टै युनिट खडा गरी काम अघि बढाइने बेनी–जोमसोम–कोरला आयोजना प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए ।

आयोजना प्रमुख सुवेदीका अनुसार बेनीदेखि जोमसोमसम्मको ७६ किमी दूरीको सडक ११ मिटर चौडा बनाइ कालोपत्र गर्ने र एकसय १० किमी दूरीको जोमसोम–कोरला सडकलाई दुई खण्डमा बाँडेर स्तरोन्नति गरिने निश्चित भएको छ । बेनी–जोमसोमखण्ड कालोपत्रका लागि चार खण्डमा विभाजन गरी काम अघि बढाइनेछ । आयोजना प्रमुख सुवेदीका अनुसार बेनी–जोमसोम खण्ड कालोपत्रका लागि केही दिनमै टेन्डर गरिँदैछ ।  तीन वर्षभित्र काम सक्ने लक्ष्यका साथ चारवटा ठेकेदारमार्फत काम गर्ने योजना रहेको र अहिले लागतको ‘भेरिफिकेसन’ भइरहेको उनले बताए ।

आयोजना प्रमुख सुवेदीले भने–‘बेनी–जोमसोम खण्डमा नौवटा पक्की पुल बन्नेछन् । तीमध्ये दुईवटा पुल बनिरहेका छन् । बाँकी सातवटा पनि मोटरेबल पक्की पुल वनाइने छ ।’ उनका अनुसार अहिले सञ्चालनमा रहेका सबै बेलिब्रिज हटाएर सट्टामा पक्की पुल बन्नेछन् । आयोजना प्रमुख सुवेदीका अनुसार बेनी–जोमसोम खण्ड कालोपत्र गर्न करिब तीन अर्ब ८८ करोड रुपैयाँको लागत स्वीकृति अर्थमन्त्रालयले दिएको छ ।  जोमसोम–कोरला सडक स्तरोन्नति गर्न पनि करिब साढे तीन अर्ब रुपैयाँ लागत लाग्नेछ । बेनीदेखि कोरलासम्मकै सडक स्तरोन्नति गर्न नेपाल सरकारको लगानी रहने आयोजना प्रमुख सुवेदीले बताए ।

सुवेदीका अनुसार ठेक्का सम्झौता भइसकेको माथिल्लो खण्डका लागि मात्र सरकारले यस वर्ष करिब ४० करोड रुपैयाँ विनियोजन गरेको छ । सम्झौतापछि तल्लो खण्डलाई पनि बजेट आउनेछ । ‘सरकारको मुख्य प्राथमिकतामा परेको बहुवर्षे आयोजना हुनाले दुईवटै खण्डको कामलाई बजेट अभाव हुँदैन,’ उनले भने । </p> ]]>