नेकपा एमालेका दुई शक्तिशाली नेता माधव नेपाल र ईश्वर पोखरेल आगामी चुनावमा काठमाडौंबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार छन् । तर यी एमालेका दुई नेताबीचको सम्बन्धका कारण सिंगो काठमाडौंमा एमालेको संगठन नै संकटमा पर्ने देखिएको छ । स्थानीय चुनावको मुखमा काठमाडौंमा नेपाल पक्ष र ओली पक्षका समानान्तर भेला भएका थिए । काठमाडौं ओली पक्ष भनेको नै ईश्वर पोखरेलको संगठन हो । सुरुमा माधव नेपाल पक्षको काठमाडौंमा संगठन बलियो भए पनि पछिल्लो समयमा माधव नेपाल पक्षका नेता कार्यकर्ता असुरक्षित हुन थालेपछि गुट परिवर्तन गर्न लागेका छन् ।
रौतहट र काठमाडौंलाई आफ्नो चुनावी क्षेत्र बनाउँदै आएका नेपाल दुई क्षेत्रबाट उम्मेदवार बन्न नपाउने संवैधानिक सीमापछि काठमाडौंबाट चुनावी मैदानमा छन् अर्कोतर्फ दुईवटा संविधानसभामा पराजित भएका पोखरेल आफ्नै निर्वाचन क्षेत्र काठमाडौं ५ बाट उम्मेदवार बनेका छन् । तर अहिले यी दुवै शक्तिशाली नेता नेपाल र पोखरेल एकअर्कोको अस्तित्व नामेट बनाउने अभियानमा जुटेको चर्चा एमाले मुख्यालयतिर चल्न थालेको छ ।
यी दुवै नेता आगामी एमालेको महाधिवेशनलाई लक्षित दुई नेताको लडाइँ प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा देखिन थालेको छ । आगामी एमालेको महाधिवेशनमा माधव नेपाल अध्यक्षको प्रत्याशीका रूपमा हेरिएको छ । त्यसैगरी केपी ओलीको पक्षबाट ओलीको विकल्पमा पोखरेललाई अगाडि ल्याउने सम्भावना रहेका कारण अहिलेदेखि नै दुई नेता एकले अर्कालाई समाप्त पार्ने ढंगले लागेको धेरै एमाले कार्याकर्ताहरूको बुझाइ रहेको छ ।
अर्को भनेको माधव नेपालपक्षीय अधिकांश टिकट वितरणमा समेत पेलाइमा परेका कारण पनि काठमाडौंका एमालेपक्षीय कार्यकर्ता ईश्वरको विरोधमा देखिएका छन् । काठमाडौंमा क्षेत्र नम्बर एकमा एमालेबाट सावित्री भुसाल प्रतिनिधिसभा सदस्य थिइन् । तर उनलाई टिकट दिनुपर्ने भएपछि माओवादीलाई सो क्षेत्र छोडाउन ईश्वर पोखरेलको भूमिका रहेका नेपालपक्षीय नेताहरूको बुझाइ रहेको छ । काठमाडौंमा नेपाल पक्षको समानान्तर संगठन सञ्चालन गरिरहेकी भुसाललाई पछाडि पार्दै काठमाडौं क्षेत्र नम्बर ३ मा ओली पक्षका नेता कृष्ण राईलाई पोखरेलका कारण टिकट पाएको बुझाइ नेपालपक्षीय कार्यकर्ताहरूमा रहेको छ । त्यही कारणले नेपालका कार्यकर्ताहरू पोखरेलको विपक्षमा देखिएका छन् ।
त्यसैगरी नेपाल पक्षका धेरै कार्यकर्ताहरूको बुझाइ सुरुमा माधव नेपालको विरुद्धका बागी उम्मेदवार समेत पोखरेल पक्षले उठाएको रिससमेत पोखरेलसँग साध्ने दाउमा नेपाल पक्षका कार्यकर्ता रहेका छन् । नेपाल पक्षका अधिकांश कार्यकर्ताहरू पोखरेलको विरुद्धमा देखिएपछि पोखरेल पक्षका कार्यकर्ताहरूसमेत नेपालको विरुद्धमा देखिएका छन् ।
प्रतिक्रिया