देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

काठमाडौंका यी क्याम्पसमा स्ववियु चुनाव स्थगित

देशान्तर

काठमाडौं । काठमाडौंका मुख्य क्याम्पसमा स्ववियु चुनाव रोकिएको छ । निर्वाचनको तयारी पूरा भएपछि रत्नराज्य क्याम्पसमा अनेरास्ववियुको तालाबन्दीले चुनाव रोकिएको छ ।

त्यस्तै, त्रिचन्द्र क्याम्पस, पद्मकन्या, विश्वभाषा, अस्कल, ल क्याम्पस, सरस्वती क्याम्पस, पब्लिक युथ क्याम्पस र शंकरदेव क्याम्पसमा पनि चुनाव रोकिएको छ ।

विश्वविद्यालय क्याम्पसमा भने चैत ८ का लागि चुनाव तोकिएको छ । त्रिविको भैरहवा, बुटवल र जनकपुरको क्याम्पसमा पनि स्थगित भएको छ ।

स्थगित भएका क्याम्पसमा १५ दिनभित्र चुनाव गराउने तयारी रहेको त्रिवि स्रोतले जनाएको छ ।

त्रिभुवन विश्वविद्यालयका ४५ वटा आंगिक क्याम्पसमा भने स्ववियु निर्वाचनको मतदान भइरहेको छ । मतदान भइरहेका क्याम्पसमा शान्तिपूर्ण वातावरण छ ।

काठमडौंका थापाथली, पुल्चोक, मिनभवन, महाराजगन्ज, आयुर्वेद क्याम्पस, भक्तपुर बहुमुखी क्याम्पस लगायतमा मतदान भइरहेको छ ।

चुनावको अनुगमनमा राष्ट्रिय मानव अधिकार आयोग, नेपाल बार र पत्रकारहरूको टोली खटिएको छ । अनुगमनसँगै सुरक्षाको लागि प्रहरीको टोली पनि खटिएको छ ।

त्रिविका ६४ वटा अंगिक क्याम्पस र १ हजार ५३ वटा सम्बन्धनप्राप्त क्याम्पस छन् । २०७९ मा ५० वटा आंगिक र ३०० भन्दा बढी सम्बन्धप्राप्त क्याम्पसमा चुनाव भएको थियो ।

विद्यार्थी संख्या २०० जनासम्म भएका प्रत्येक क्याम्पसमा ११ सदस्यीय, २०१ देखि १००० जनासम्म विद्यार्धी भएको क्याम्पसमा १५ सदस्यीय, १००१ देखि ३००० जनासम्म विद्यार्थी भएको क्याम्पसमा १९ सदस्यीय र ३००१ जनाभन्दा बढी विद्यार्थी संख्या भएको क्याम्पसमा २१ सदस्यीय स्ववियु कार्यसमिति रहने व्यवस्था छ ।