नेपाल प्रहरीको ३१औं महानिरीक्षक (आईजीपी) मा दीपक थापा नियुक्त भएका छन्। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनलाई प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको हो। यसअघि थापा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख थिए।
प्रहरी महानिरीक्षक बसन्त कुँवरले सोमबार अनिवार्य अवकाश पाएपछि सरकारले नयाँ नेतृत्व चयन गरेको हो। कुँवर २०७९ चैत १० गते नेपाल प्रहरीको ३०औं महानिरीक्षक बनेका थिए। उनी ३० वर्षे सेवा अवधि पूरा गरी अवकाशमा गएका हुन्।
कुँवरको अवकाशसँगै गृह मन्त्रालयले सोमबार साँझ नै उनलाई औपचारिक बिदाइ गरिसकेको छ। उनका ब्याचमेटहरू— एआईजी टेकप्रसाद राई, बुद्धिराज गुरूङ, दुर्गा सिंह, कुवेर कडायत र जनक भट्टराई पनि अवकाशमा जानेछन्। भट्टराई भने हालै फागुन १३ गते मात्र एआईजी बनेका थिए। त्यसैगरी, डीआईजी ध्रुव राउत, भोला रावल, र गणेश चन्दले पनि अवकाश पाएका छन्।
नवनियुक्त प्रहरी महानिरीक्षक थापा २०५२ साल भदौ १९ गते प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदबाट प्रहरी सेवामा प्रवेश गरेका थिए। उनले २०६३ भदौ ८ मा डीएसपी, २०७२ साउन ८ मा एसपी, २०७५ फागुन ६ मा एसएसपी, २०७९ असार १७ मा डीआईजी र २०७९ चैत ६ मा एआईजीमा बढुवा भएका थिए।
आईजीपीको दौडमा तीन जना एआईजी प्रतिस्पर्धामा थिए— दीपक थापा, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रमुख सुदिप गिरी, र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख टेकबहादुर तामाङ। ज्येष्ठता, कार्यदक्षता र कार्यसम्पादनका आधारमा थापा अगाडि रहेकाले उनलाई नेतृत्व सुम्पिएको हो।
उनको कार्यकाल २०८२ भदौ १८ सम्म रहनेछ, जसअनुसार उनले करिब ६ महिना नेपाल प्रहरीको नेतृत्व गर्नेछन्।
प्रतिक्रिया