देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राजावादी र गणतन्त्रवादीको २ कित्ता

देशान्तर


काठमाडौं । राजनीतिक दलका नेताहरूको अकर्मण्यताका कारण राजावादीहरू पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका नाममा ‘ठूलै’ संख्यामा सडकमा उत्रेर गणतन्त्रात्मक व्यवस्थामाथि प्रश्न उठाउन थालेपछि अहिले राजनीतिक दलका नेताहरूले गणतन्त्रवादीहरूको मोर्चाबन्दीको आवश्यकता बोध गरेका छन् । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले औपचारिक रूपमै गणतन्त्रवादीहरूको मोर्चाको आह्वान गरिसकेका छन् । राष्ट्रिय जनमोर्चाले फागुन २५ गते एक विज्ञप्तिमार्फत लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षताका पक्षधरहरूलाई निरंकुश राजतन्त्रका प्रतिगामी प्रयत्न असफल बनाउन कार्यगत एकताको प्रस्ताव गरेको हो ।


७ फागुनमा पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको सन्देशपछिका गतिविधिबाट गणतन्त्र र धर्मनिरपेक्षताका साथै जनताको आन्दोलन र संघर्षबाट प्राप्त उपलब्धिहरूमाथि खतरा बढेर गएको यस्तो बेला केसीले सम्पूर्ण लोकतान्त्रिक तथा गणतान्त्रिक शक्तिहरू बीच ऐक्यबद्धता कायम हुनुपर्ने आवश्यकतामा जोड दिँदै लोकतन्त्रवादी र गणतान्त्रिक शक्तिहरूबीचको ऐक्यबद्धता र कार्यगत एकताबाट नै देशलाई पश्चगमन वा निरंकुश राजतन्त्रतर्फ धकेल्ने प्रतिगामीहरूको प्रयत्नलाई असफल पार्न वा पराजित गर्न सम्भव हुने जनाएका छन् । यसैबीच विपक्षी चार दलको समाजवादी मोर्चाले १५ मा जनसभा गर्ने निर्णय गरेको छ । समाजवादी मोर्चाको शुक्रबारको बैठकले गणतन्त्रात्मक व्यवस्थाको पक्षमा अन्तक्र्रिया र सभा गर्ने निर्णय गरेको थियो । यसक्रममा मोर्चाले हिजो शनिबार बुद्धिजीवी र नागरिक समाजसँग अन्तक्र्रिया गरेको थियो ।

मोर्चाका संयोजक एवं नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले मुलुकलाई पश्चगमनतिर ढल्काउने प्रयास भइरहेकाले अग्रगमनको पक्षमा प्रदर्शन गर्न लागेको बताए । मोर्चाले संसदवादी दलहरू र बाहिर रहेका दलहरूसँग छलफल गर्ने निर्णय पनि गरेको छ । मोर्चाले १५ गतेको प्रदर्शनलाई ऐतिहासिक बनाउने दाबीसहित तयारी गरिरहेको जनाएको छ । मोर्चाको यो प्रदर्शनलाई राजावादीको ‘स्वागत’को काउन्टरका रूपमा हेरिएको छ । हजारौँ जनता सडकमा उतार्ने मोर्चाले जनाएको छ ।


पूर्वराजा ज्ञानेन्द्रले सार्वजनिक गरेको वक्तव्य र त्यसपछि उनी पोखराबाट काठमाडौं फर्किंदा राजावादीहरूले बनाएको माहोललाई लिएर दलहरू आत्तिएका छन् । देशमा प्रतिगमनको खतरा बढेको दलहरूको निष्कर्ष छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई धेरै चुरीफुरी नगर्न चेतावनी दिएका छन् । सिन्धुपाल्चोकको मेलम्ची नगर समितिको सम्मेलनलाई सम्बोधन गर्दै उनले मूर्तिचोर को हुन् ? भन्दै नेपालका ठूला मूर्ति चोरहरू अहिले राजा भएको भाइमारा को हो ? भन्दै आफ्नै वंश मास्नेले अहिले धाक लगाउन मिल्छ ? भनेर पूर्वराजाप्रति खनिएका थिए । उनले सुन तस्कर को हो ? नेपाली जनताले बिर्सियो भन्ठानेको ? भन्दै थप आक्रोश पोखेका थिए । धेरै मूर्खता पहिले पनि भइसकेको र अर्को मूर्खता गरे भने नेपाली जनता उदार नहुने प्रचण्डको चेतावनी थियो ।