देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मिस काभ्रेदेखि चलचित्र ‘द्रौपदी’को हिरोइनसम्म

देशान्तर

काठमाडौं । चैत ८ गतेदेखि प्रदर्शनको तयारीमा रहेको चलचित्र द्रौपदीबाट दुई नायिकाहरूले डेब्यु गरेका छन् । तीमध्ये एक हुन् सुजाता तिमल्सिना । उनी २०२१ कि काभ्रे फेस्टकी विजेता पनि हुन् । प्रस्तुत छ, चलचित्र द्रौपदीकी डेब्यु नायिका तिमल्सिनासँग गरिएको कुराकानीको सम्पादित अंश ।
चलचित्र द्रौपदी कस्तो चलचित्र हो ?
द्रौपदी कति ओजिलो अनि कति ओजस्वी शब्द छ , कति गह्रौँ टाइटल छ यसैबाट पनि चलचित्र गम्भीर विषय उठान गरेको छ भन्ने बुझिन्छ । हामीले महाभारतमा पढेको, हेरेको जुन पात्रको नाम छ त्यस अर्थमा पनि चलचित्रमा गहन कुरा छ भन्ने बुझ्नपर्छ । के छ भन्ने त चलचित्र हेर्दासम्म रहस्यमै राख्दा ठिक होला । जे होस् यो टाइटललाई हामीले न्याय दिने कोसिस गरेका छौँ ।

सिरिज र म्युजिक भिडियोमा अभिनय गर्दागर्दै चलचित्रमा प्रवेश गर्नुभयो । सिरिजमा काम गर्न सजिलो कि चलचित्रमा ?
एक हिसाबले सिरिज होस्, म्युजिक भिडियो होस् या चलचित्र सबैमा अभिनय गर्नपर्छ । तर चलचित्रमा ठूलो युनिट, धेरै उपकरण प्रयोग हुने हुँदा केही धेरै टेक गर्नुपर्नेचाहिँ रहेछ । तर, जे गर्दा पनि अभिनय गर्नुपर्छ । त्यो एउटै हो ।
चलचित्रमा अवसर कसरी जु¥यो ?
म २०२१ काभ्रे फेस्टको विनर भएँ । अनि म आफूमा केही रहेछ आफ्नो ट्यालेन्ट अझ धेरै ठाउँमा फैलियोस् भन्ने चाहन्थेँ । अनि यसैबीचमा म अभिनयको क्लास लिन आरबी मुभिजमा भर्ना भएँ । एक वर्षको अभिनय कक्षापश्चात् आरबी मुभिजको ब्यानरमा बनेको आँसु सिरिजमा काम गर्ने मौका पाएँ । त्यसपछि विभिन्न जनचेतनामूलक सन्देशहरू, विज्ञापनहरूमा पनि मौका पाएँ । द राइज नामको चलचित्रमा गेस्ट रोल निभाएपछि द्रौपदीको अडिसनमा गएँ । अन्ततः ४०० जना प्रतिस्पर्धीबाट मैले द्रौपदीमा महत्वपूर्ण भुमिका पाएँ । चलचित्रमा आउने सोच खासमा बच्चैदेखिकै हो तर उपर्युक्त अवसरको खोजीमा थिएँ । द्रौपदीमा त्यो अवसर पाएँ ।
द्रौपदीको कर्णाली काटौँला गीतमा पनि नेपाल आइडल रवि ओडसँग मायाप्रेम साटिरहनुभएको छ । उहाँ तपाईंको अपोजिटमा हुनुहुन्छ ?
त्योचाहिँ अहिले गोप्य नै राखौँ । म रवि ओड अनि ऋषिराज आचार्य दुवैसँगको दृश्यमा छु । कसको अपोजिटमा छु भन्नेचाहिँ चलचित्र हेरेपछि मात्र थाहा होला । त्यसका लागि चैत ८ सम्म कुर्नैपर्ला ।
चलचित्र द्रौपदी केका लागि हेर्ने त ? अहिले खुलाउन मिल्ने के–के कुराहरू छन् ?
चलचित्रको विषय गम्भीर छ । अहिलेसम्म पूर्ण रूपमा उठान नगरेको विषय लेखक निर्देशकले उठाउनुभएको छ । अर्को कुरा चलचित्रको विषयबाहेक शे–फोक्सुन्डोलगायत कर्णालीका विभिन्न मनोरम दृश्यहरू जुन सदरमुकामबाट तीन दिनसम्म पैदल हिँडेर समेत छायांकन गरिएको छ । ती दृश्यले नै दर्शकलाई आनन्दित तुल्याउनेछ । नेपाल चिनाउने, नेपालको सुन्दरता चिनाउने काम समेत चलचित्रले गर्नेछ । अर्कोतर्फ वास्तविक नेपाल काठमाडौं मात्र होइन रहेछ त्यहाँको जनजीवन हेरेपछि यो पनि नेपाल हो भन्ने लाग्छ ।
चलचित्रमा किन नयाँ कलाकारहरू छनोट गरियो ?
कथाको पात्रहरू वास्तविक लागोस् भनेर नयाँ पात्रहरू छनोट गरिएको हुनसक्छ । चर्चित अनुहार नहोलान् तर अभिनयमा अब्बल छन् । पात्रहरू अडिसनबाट छनोट गरिएको हो । पात्रहरू कथामा मज्जाले डुबेका छन् । २ महिनाको कार्यशाला गरेर छायांकन गरिएकोले काम गज्जब गरेका छन् । चलचित्र हेर्नुभयो भने यी पात्रबाहेक अन्य पात्र या चिनिएका अन्य अनुहार राखेको भए कथालाई न्याय हुँदैन रहेछ भन्ने बुझ्नुहुन्छ ।

तपाईंलाई कलाकारमा डेब्यु गराउनुमा निर्देशकको बाहेक अरू कसको हात छ ?

निर्देशकले पनि मलाई एउटा पात्रका लागि अडिसन लिएर छनोट गर्नुभएको हो । त्यसपछि यस चलचित्रका अर्का निर्माता प्रकाश ज्ञवाली र सहनिर्माता ऋतु आचार्यले पनि यो पात्रमा मेरो छनोटलाई खुसीसाथ सहमति जनाउनुभयो ।

द्रौपदी चल्नुपर्ने कारणहरू केके हुन् ?

अर्गानिक नेपाली चलचित्रप्रति दर्शकहरूको माया र चासोलाई चलचित्र द्रौपदीले निरास बनाउने छैन । निर्देशकले यो चार वर्षको अध्ययनसहित निर्माणमा दुई वर्षको मिहिनेतमा बनाएको चलचित्र हो । वास्तविक नेपाली चलचित्रको स्वाद द्रौपदीमा पाउनुहुनेछ । त्यसर्थ द्रौपदी हेर्नुपर्छ । चैत ८ गते सपरिवार गएर द्रौपदी हेर्नुहोस् आरबी मुभिजको अर्को चलचित्र कहिले आउला भन्ने प्रतीक्षा गर्न मन लाग्नेछ द्रौपदी हेरेपछि ।