सनातन पूर्वीय दर्शनमा सृष्टिको उत्पत्तिका विषयमा हामीबीच धेरै ग्रन्थहरू भेटिन्छन् । प्रायः यी ग्रन्थहरूले महत् तत्वको सिर्जनालाई प्राथमिकतामा राखेका छन् । महत् तत्वलाई हामी कास्मिक इन्टलिजेन्स भनेर बुझ्न सक्छौँ । महत् तत्वलाई नासदीय सूक्तमा तेस्रो मन्त्रमा वर्णन गरिएको छ । ऋग्वेदको नासदीय सूक्तले असत् र सत् पनि नहुँदा, कण पनि नहुँदा, अन्धकारभन्दा पनि गहिरो अवस्थादेखि इच्छाको कारण महत् तत्वको र सत् असत्को उत्पति भएको बताएको छ । यसरी कस्मिक इन्टेलिजेन्सको कुरा पनि प्राचीन ग्रन्थ ऋग्वेद हुँदै हिरण्यगर्भ सूक्त, छान्दोग्योपनिषद्, विष्णु पुराण, सांख्य दर्शन, योग दर्शनलगायत विभिन्न हिन्दु ग्रन्थहरूमा लेखिएको भेटिन्छन् ।
यी विविध ग्रन्थका विभिन्न खण्डमध्ये आज म ऋग्वेदको नासदीय सूक्तलाई विज्ञानसँगै जोडेर केही प्रसंग चर्चा गर्दै छु । नासदीय सूक्तका सात मन्त्रहरूमध्ये पहिलो मन्त्रले ‘न असत् आसित् न इति सत् आसित्’बाट सुरु हुन्छ जसमा न केही अस्तित्वमा थियो र न त अस्तित्व नै नभएको अवस्था थियो । न त तत्व थियो, न त केही थियो । त्यसो भए के थियो, कहाँ थियो त कोले संरक्षण गरिरहेको थियो त ? जस्ता प्रश्नहरू उठाइएका छन् । जसरी स्टेफेन हकिङ्सले भनेका थिए– सिंगुलारिटी यति सानो थियो र त्यहाँ हुने क्वान्टम इफेक्ट पनि बुझ्न सकिने अवस्थामा थिएन ।
यसैलाई प्रथम मन्त्रले वर्णन गरेको थियो । त्यसपछि दोस्रो मन्त्रले न जीवन थियो र मृत्यु थियो, न रात थियो न दिन थियो केही थिएन । त्यहाँ अनादि थियो र आफ्नै सत्तामा थियो भन्ने बताइएको छ । यसलाई हामी पोटेन्सियल ऊर्जा भएको परमतत्व थियो भन्न सक्छौँ । यसलाई अगाडि अन्धकारभन्दा गहिरो विज्ञानको भाषामा एउटा भ्वाइड थियो भन्न सक्दछौ । त्यो सर्वत्र व्याप्त थियो । यहीबाट कस्मिक इन्टेलिजेन्स् याने कि महत तत्व बन्यो । कस्मिक इन्टेलिजेन्सबाट नै इच्छाको सुरुवात भयो, जहाँबाट असत् र सत् आयो । अनि बिगब्याङ भयो । र चारैतिर प्रकाश फैलिन थाल्यो । प्रकाश फैलिँदा ताराहरू र स्पेससमय आदिको सुरु भयो । जब ब्रह्माण्डको विस्तार सुरु भयो, ती सबै ग्रह र ताराहरू एक–अर्कामा स्वयं बाँधिन थाले ।
यसभित्र नै ग्राभिटी र ग्राभिटीसँगै समय स्पेस सबै अस्तित्वमा आयो । तपाईं अब नै भगवान् भन्नुस्, सृष्टि भन्नुस्, प्रकृति भन्नुस वा मायामोह, स्नेह भन्नुस् सबैको जन्म भयो । त्यसैले छैटौँ र सातौँ मन्त्रले जिज्ञासा राख्ने सबैलाई बह्माण्डको उत्पत्तिलगायतको खोजी गर्न स्वतन्त्र बनाएको छ । किनकि त्यो सिंगुलारिटी नै द बिग क्रन्च वा यो ब्रह्माण्डको संकुचन वा मृत्युबाट वन्ने अत्यन्तै सूक्ष्म तत्वको साइकल कहिले फैलिने र कहिले खुम्चनेबाट हुने कुरामा आज विज्ञानले पनि प्रमाणित गर्दै गइरहेको छ । यसरी सिंगुलारिटीमा पुग्न र सिंगुलारिटीबाट फैलने प्रक्रियाको गणित बुझ्न हामीले युग, महायुग र कल्पलगायतको समय तालिकाको अध्ययन गर्नुपर्ने हुन्छ । क्रमश :
(लेखक वरिष्ठ इन्जिनियर भट्टराई ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल बानका केन्द्रीय अध्यक्ष तथा पूर्वीयदर्शनका अध्येता हुन् ।)
प्रतिक्रिया