देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सन्तोषी महत मृत्यु प्रकरण : सशस्त्रकै इन्सपेक्टर विवेक जोशी पक्राउ

देशान्तर

काठमाडौं । सशस्त्र प्रहरी बलकी इन्सपेक्टर सन्तोषी महतको मृत्यु प्रकरण अनुसन्धानका लागि सशस्त्रकै इन्सपेक्टर विवेक जोशी पक्राउ परेका छन् ।

ब्यारेकमै झुण्डिएको अवस्थामा मृत फेला परेकी सन्तोषीको परिवारले जोशीविरुद्ध आत्महत्या दुरुत्साहनमा किटानी जाहेरी दिएका थिए । उजुरी दर्ता भएपछि जोशीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी वसन्तत शर्माले जानकारी दिएका छन् ।

पक्राउ परेका इन्सप्क्टर २३ नं.गण तनहुँमा कार्यरत छन् । उनी १६ बेसिकका इन्सपेक्टर हुन् । जोशी र सन्तोषी प्रेमी–प्रेमिका रहेको परिवारको दाबी छ । उनैका कारण सन्तोषीले आत्महत्या गर्नु परेको दाबी जाहेरीमा छ ।

यो घटनाको छानबिन गर्न सशस्त्र प्रहरी हेडक्वाटरले समेत राष्ट्रिय सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा कार्यरत डीआईजी लक्ष्मण सिंहको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।

इन्स्पेक्टर बेसिकको तालिम गर्दै आएकी महत सन्तोषी पोखरास्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन ब्यारेकमै मृत भेटिएकी थिइन् ।

सिन्धुपाल्चोक घर भएकी महत १७ बेसिक (२०८१) की इन्स्पेक्टर हुन् । इन्स्पेक्टरको बेसिक तालिम गरिरहेकी उनी ब्यारेकको महिला शौचालयको नजिकको बिममा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।

०७२ सालमा सशस्त्रकै सिपाहीमा भर्ना भएकी उनले ०७८ सालमा असईमा नाम निकालेकी थिइन् । त्यसपछि अहिले ०८१ सालमा इन्स्पेक्टरमा नाम निकालेर तामिल सुरु गरेकी थिइन् ।