अनुपम प्राकृतिक सौन्दर्यता, प्रशस्तै जैविक तथा सामाजिक विविधता, ऐतिहासिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण छ काठमाडौं जिल्लाको पश्चिमतर्फ अवस्थित चन्द्रागिरि नगरपालिका । यस नगरपालिका काठमाडौं जिल्लाभित्रको सबभन्दा ठूलो नगरपालिका हो । काठमाडौं जिल्लाको साविक थानकोट, दहचोक, नैकाप नयाँभञ्ज्याङ, वाडभञ्ज्याङ, बलम्वु, महादेवस्थान, तीनथाना, सतुंगल, मातातीर्थ, मच्छेगाउँ र नैकाप पुरानोभञ्ज्याङ गाविस गरी जम्मा ११ वटा गाउँ विकास समितिहरूलाई समेटेर बनेको यस नगरपालिकामा १५ वडा छन् । यस नगरपालिकाको पूर्वतर्फ काठमाडौं महानगरपालिका र कीर्तिपुर नगरपालिका, पश्चिमतर्फ धादिङको धुनवेशी नगरपालिका, उत्तरतर्फ नागार्जुन नगरपालिका र दक्षिणतर्फ मकवानपुरको थाहा नगरपालिका र इन्द्र सरोवर गाउँपालिका छन् । ४३ दशमलव ९ वर्ग किलोमीटर क्षेत्रफलमा फैलिएको यस नगरपालिकाको केन्द्र बलम्वुमा रहेको छ ।
‘ऐतिहासिक सांस्कृतिक नगरी, समृद्ध पर्यटकीय चन्द्रागिरि’ भन्ने नारालाई साकार पार्नको लागि यस नगरपालिकाले नगरमा भौतिक पूर्वाधारको विकासका साथै आर्थिक, सामाजिक र मानव विकास तथा प्रविधियुक्त सुशासन र सभ्यतामूलक समाजसहितको समृद्धतालाई अगाडि बढाइरहेको छ । यस चन्द्रागिरि नगरपालिकाले जनमुखी कार्यक्रम सञ्चालन गर्दै जनताको भावना अनुकूल योजना तर्जुमा गरी कार्यान्वयन गर्दै आएको छ । आधुनिक तथा व्यावसायिक शिक्षा, सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा, उद्यमशीलता तथा रोजगार प्रवद्र्धन, पूर्वाधार निर्माण, पर्यटन विकास, खाद्य सुरक्षा, कृषि विकासलाई प्रमुख प्राथमिकतामा राख्दै अगाडि बढेको छ यस चन्द्रागिरि नगरपालिका । नगरवासीबाट प्राप्त रचनात्मक सुझाव तथा माग र आवश्यकता संकलन गरी उपलब्ध स्रोत र साधनलाई ध्यानमा राख्दै प्राथमिकताका आधारमा विकासको गतिलाई तीब्रता दिँदै आएको छ यस स्थानीय तहले ।
यस स्थानीय तहले कृषि विकासका लागि गरेका कामहरू निकै उदाहरणीय छन् । परम्परागत कृषिलाई प्रविधिमैत्री खेती प्रणालीमा लैजान प्रविधिमा आधारित कृषि औजार, उपकरण एवं मेसिनरी खरिदमा अनुदानको व्यवस्था गर्दै आएको छ यस नगरपालिकाले । कृषकहरूलाई अनुदानमा धानको बीउ र च्याउको बीउ वितरण गर्नुका साथै स्थानीय कृषि उत्पादनहरूलाई प्रवद्र्धनमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ । साना किसानहरूका लागि अनुदानमा दुहुना गाई, भैँसी वितरण गरी स्वरोजगार र आयआर्जनमा आधारित कार्यक्रमहरूलाई समेत यस नगरपालिकाले प्राथमिकता दिँदै आएको छ ।
यस नगरपालिकाले पर्यटनमा निकै सम्भावना बोकेको छ । गोपाल, महिषपालजस्ता ऐतिहासिक जातीहरूको थलो मानिने चन्द्रागिरि क्षेत्र काठमाडौं उपत्यका दह भएको समयमा समेत तटीय क्षेत्रको रूपमा रहेको अनुमान पुरातत्वविद्हरूले बताउँदै आएका छन् । यस नगर क्षेत्रमा थुप्रै मन्दिरहरू, पार्क, ट्रेकिङ रुट छन् । नगर क्षेत्रभित्रका धार्मिक, सांस्कृतिक, दृश्यावलोकनका केन्द्रहरू लगायतका महत्वपूर्ण स्थलहरूलाई समेटेर चन्द्रागिरि सर्किट घोषणा गरी प्रवद्र्धन गर्ने नीति समेत यस नगरपालिकाको छ ।

मसिने, झांगाझिटी, किसिपिडि, बलम्बु, बालागाउँ, लुँकोट, मच्छेगाउँ स्थानीय परम्परागत वस्तीहरूमा पर्यटन प्रवद्र्धनमा होमस्टे सञ्चालन गर्न समेत यस नगरपालिकाले प्रोत्साहित गर्दै आएको छ । यस नगर क्षेत्रभित्र रहेको विभिन्न ऐतिहासिक, पुरातात्विक मन्दिर, गुफाको संरक्षण र सम्बद्र्धन पनि गर्दै आएको छ यस नगरपालिकाले । यस नगर क्षेत्रभित्र रहेका विभिन्न प्राकृतिक, ऐतिहासिक, धार्मिक तथा सांंस्कृतिक स्थलहरूको विकास गरि आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि नगरपालिकाले काम गर्दै आएको छ । मठमन्दिर तथा ऐतिहासिक महत्व बोकेका धरोहरहरू सूचीकृत गरी संरक्षण र प्रवद्र्धन गर्दै आएको छ यस स्थानीय तहले । आधारभूत स्वास्थ्य सेवाहरूलाई नगरवासीहरूको मौलिक हकको रूपमा स्थापित गर्न नगरस्तरीय स्वास्थ्य नीति निर्माण गर्दै नगरभित्र रहेका सबै स्वास्थ्य संस्थामा प्रयोगशाला सेवालाई विस्तार गर्दै गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ यस स्थानीय तहले । नगर अस्पताललाई स्तरोन्नति गर्दै विशेषज्ञ सेवा दिने रिफरल सेन्टरको रूपमा विकास गरेको छ । नगरपालिकाभित्रका सबै स्वास्थ्य संस्थाहरू प्रविधि र पूर्वाधारयुक्त बन्दै गइरहेका छन ।
नगरको शैक्षिक क्षेत्रको रूपान्तरणका लागि नगरपालिकाले गरेका कामहरूले शैक्षिक विकासमा ठूलो फड्को मारेको छ । नगर क्षेत्रभित्रका सामुदायिक विद्यालयहरूका पूर्वाधार विकास र शैक्षिक वातावरणलाई स्वच्छ, मर्यादित र अनुशाशित बनाई गुणस्तरीय शिक्षा प्रदान गर्ने क्षेत्रमा यस नगरपालिकाले प्रशस्तै कामहरू गरेको छ । भौतिक पूर्वाधार विकासको क्षेत्रमा पनि प्रशस्तै कामहरू भएका छन् । नगर क्षेत्रभित्रका प्रमुख सडकहरू कालोपत्रे गर्ने, सहायक सडकहरूलाई स्तरोन्नति गर्ने कामहरू धमाधम भइरहेका छन् ।
नगरपालिकाले मापदण्डअनुसार नयाँ बाटो खोल्ने र भएका बाटाहरूलाई मापदण्डअनुसार कायम गर्ने र स्तरोन्नति गर्नेलाई विशेष प्राथमिकता दिँदै आएको छ । स्वच्छ, सफा, वातावरणमैत्री सडक निर्माण तथा सम्भार गर्न सडक किनारा हरियाली प्रवद्र्धन कार्यलाई अगाडि बढाएको छ यस नगरपालिकाले । नगरपालिकाबाट प्रवाह गरिने सार्वजनिक सेवालाई स्वच्छ, निष्पक्ष, पारदर्शी र जनमुखी बनाएको छ यस चन्द्रागिरि नगरपालिकाले । सेवा प्रवाहलाई चुस्त दुरुस्त, पारदर्शी र विश्वसनीय बनाउँदै सुशासन कायम राख्न नागरिक बडापत्र, सार्वजनिक सुनुवाई, सामाजिक परीक्षण, गुनासो सुन्ने र सूचना प्रवाहीकरणलाई प्रभावकारी बनाउँदै आएको छ यस चन्द्रागिरि नगरपालिकाले ।
प्रतिक्रिया