काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेताहरुले अध्यादेशबाट शासन गर्न खोज्नु गलत भएको बताएका छन् । जिपी फाउण्डेशनले आज भक्तपुरको कौशलटारमा आयोजना गरेको ‘गिरिजाप्रसाद कोइराला र वर्तमान राजनीति’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनीहरुले कांग्रेसको मूल्य, मान्यता र पद्धति अध्यादेशबाट शासन गर्ने नभएको पनि बताएका हुन् ।
विचारगोष्ठीका प्रमुख अतिथि कांग्रेस बरिष्ठ नेता तथा सांसद डा. शेखर कोइरालाले सरकारले अध्यादेशबाट शासन गर्न खोज्नु गलत भएको बताएका हुन् । कांग्रेस र एमालेजस्ता संसद्का ठूला दल नै मिलेर सरकार बनाउनु गलत भएको पनि उनको भनाई थियो । नेता कोइरालाले माओवादी र मधेशी दलहरुलाई साथमा नलिइ संविधान संशोधन गर्न नसकिने पनि बताए । उनले संविधान संशोधनमार्फत निर्वाचन प्रणालीमा महिला, दलित आदिको सिट सुनिश्चित गरेर प्रत्यक्ष निर्वाचित प्रणालीमात्रै राखिनुपर्ने पनि बताए । उनले सामाजिक संजाल विधेयक अभिव्यक्ति स्वतन्त्रताविरोधी भएको बताए । नेता कोइरालाले हिजो कांग्रेसले संसद्बाट फिर्ता गराएको विधेयक कांग्रेस सरकारमा भएकै बेला आउनु दुःखद भएको बताए ।
सोही विचार गोष्ठीमा विशेष अतिथिका रुपमा कांग्रेस नेता एनपी साउदले अध्यादेशबाट शासन चलाउन खोज्नु कांग्रेसको मूल्य, मान्यता र पद्धति नभएको बताए । हाम्रो मूल्य, मान्यता र पद्धति भनेको दुईवटा अधिवेशनको बीचमा अत्यन्तै जरुरी परे अध्यादेश ल्याउने, तर सामान्य अवस्थामा कानुनको निर्माण गर्ने अन्तिम थलो संसद्बाट भएको हुनाले संसद्बाट नै नियम, कानुन बनाउनुपर्छ– नेता साउदले भने । कार्यक्रममा बोल्दै कांग्रेस नेता तथा स्वास्थ्य मन्त्री प्रदीप पौडेलले २०८४ भन्दा पछाडि पार्टी महाधिवेशन गर्दा पार्टीको वैधानिक संकट उत्पन्न हुने भन्दै समयमा नै पार्टीको महाधिवेशन हुनुपर्ने बताए । महाधिवेशन २०८४ मा पु¥याउने अधिकार कसैको नभएको उनको भनाई थियो ।
विचार गोष्ठीको सभापति तथा जिपी फाउण्डेशनकी अध्यक्ष कांग्रेस नेतृ सुजाता कोइरालाले पार्टीको अब हुने सभापति शेखर कोइराला भएको बताइन् । उनले आफ्नो पूरा समर्थन शेखर कोइरालालाई रहेको पनि स्पष्ट पारिन् । उनले अहिले लोकतन्त्र कमजोर भएको पनि बताइन् । कार्यक्रममा कांग्रेसका युवा नेताहरु गुरुराज घिमिरे, दुर्लभ थापा, देवराज चालिसे लगायत विभिन्न जिल्लाका सभापतिहरुले गिरिजाप्रसाद कोइरालाले मुलुकमा लोकतन्त्रका लागि दिएको योगदानबारेमा चर्चा गरेका थिए ।
प्रतिक्रिया