देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गृह मन्त्रालय र केयूबीच समझदारीपत्रमा हस्ताक्षर

देशान्तर


काठमाडौँ । गृह मन्त्रालय र काठमाडौँ विश्वविद्यालय (केयू)को मानसिक स्वास्थ्य विभागबीच मानसिक स्वास्थ्य अध्ययन–अनुसन्धानका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । गृह मन्त्रालयका विपद् महाशाखा प्रमुख डा टोकराज पाण्डे र विश्वविद्यालयका मानसिक स्वास्थ्य विभाग प्रमुख डा दीपक कुँवरले समझदारीपत्रमा आज हस्ताक्षर गरेका हुन् ।
त्यस अवसरमा गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालय र काठमाडौँ विश्वविद्यालयको प्रयासमा आत्महत्याका घटानालाई नियन्त्रण र न्यूनीकरणमा सहयोग पुग्ने धारणा राखे । गृह मन्त्रालय र काठमाडौँ विश्वविद्यालयको प्रयासमा एक वर्षमा आत्महत्याका घटना ठूलो सङ्ख्यामा घट्ने गृहमन्त्री लेखकले विश्वास व्यक्त गरे ।


आत्महत्याको कारण, कारक र निदानको उपायको खोजीका लागि काठमाडौँ विश्वविद्यालयले अध्ययन र अनुसन्धान गर्ने उनको भनाइ छ । उनका अनुसार मानसिक स्वास्थ्य विभागले टेलिमेडिसिनमार्फत त्यस्ता मान्छेलाई मनोपरामर्श दिनेछ । आत्महत्या नियन्त्रण र न्यूनीकरणसम्बन्धी मानसिक स्वास्थ्य विभागले नेपाल प्रहरीलाई पनि आधारभूत तालिम दिने गृहमन्त्री लेखकले बताए । केही समयपछि आत्महत्यासम्बन्धी एउटा ‘एप’ विकास गरेर सबै कुरालाई एपमा समावेश गर्ने योजना रहेको पनि उनको भनाइ छ । आत्महत्या न्यूनीकरणबारे तीन महिनामा आवधिक मूल्याङ्कन गर्न गृहमन्त्री लेखकले निर्देशन दिए । विश्वविद्यालयका मानसिक स्वास्थ्य विभागका प्रमुख कुँवरले गृह मन्त्रालयसँग भएको सम्झौताले आत्महत्या न्यूनीकरणका लागि काठमाडौँ बाहिर पनि काम गर्ने अवस्था बनेको बताए ।