काठमाडौं । लुम्बिनी बौद्ध विश्वविद्यालयको २०औँ वार्षिकोत्सव तथा दीक्षान्त समारोहका लागि प्रधानमन्त्री केपी शर्मा ओली आज रुपन्देही जाँदै छन् । प्रधानमन्त्रीको साथमा उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेल पनि रुपन्देही जान लागेका छन् ।
विश्वविद्यालयमा अहिले ६८ विदेशीसहित २ हजार ३०० विद्यार्थी अध्ययनरत छन्। आजको दीक्षान्त समारोहमा विभिन्न तहमा अध्ययन पूरा गरेका एक विदेशीसहित २८९ विद्यार्थी दीक्षित हुनेछन् ।
विश्वविद्यालयका उपकुलपति प्रा.डा.सुवर्णलाल बज्राचार्यका अनुसार स्नाकोत्तर तहका १८६, स्नातकका ८८, विद्यावारिधि पूरा गरेका सात र पीजीडीका आठ विद्यार्थी दीक्षित हुनेछन्। स्नाकोत्तर तह उतीर्ण गरेका एक बेलायती नागरिक पनि दीक्षित हुनेछन्।
दीक्षान्तमा प्रत्येक संकायबाट स्नातक तह र स्नातकोत्तर तहमा सर्वोत्कृष्ट १३ विद्यार्थीलाई विश्वविद्यालय स्वर्णपदकबाट सम्मान गरिनेछ। यस्तै बौद्ध शिक्षा, धर्मदर्शनको प्रवर्धनमा योगदान पुर्याएकी भिक्षुणी धम्मावती (गणेशकुमारी शाक्य)लाई मानार्थ विद्यावारिधि उपाधि प्रदान पनि गरिनेछ। विश्वविद्यालयले पहिलोपटक मानार्थ विद्यावारिधिको उपाधि प्रदान गर्न लागेको हो।
समारोहमा विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेलका साथै स्वदेशी तथा विदेशी विशिष्ट पाहुना सहभागी हुनेछन्।
प्रतिक्रिया