श्रीलंका । श्रीलंकामा पहिलोपटक वामपन्थी नेता राष्ट्रपति निर्वाचित भएका छन् । ५५ वर्षीय अनुराकुमारा दिसानायके राष्ट्रपतिमा निर्वाचित भएका हुन् । श्रीलंकामा सन् २०२२ को जनविद्रोहले तत्कालीन सरकार सत्ताच्युत भएपछि पहिलो्पटक सेप्टेम्बर २१ मा राष्ट्रपति पदका लागि निर्वाचन भएको थियो ।
निर्वाचनमा दिसानायक, सजिथ प्रेमदासा, रनिल बिक्रमासिंघेलगायत ३८ जना चुनावी मैदानमा थिए । सेप्टेम्बर २२ मा भएको पहिलो चरणको मतगणनामा कसैको पनि बहुमत नआएपछि सोही दिन दोस्रो चरणको मतगणना गरियो । अग्रस्थानमा रहेका दुई उम्मेदवार दिसानायके र प्रेमदासाबीच मतगणना गरिँदा दिसानायके निर्वाचित भए ।
श्रीलङ्काको इतिहासमा पहिलोपटक राष्ट्रपति निर्वाचन दोस्रो चरणको मतगणनामा पुगेको हो । त्यहाँको संविधान अनुसार राष्ट्रपति निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनु पर्छ । निर्वाचनमा मतदाताले प्राथमिकताका आधारमा पहिलो, दोस्रो र तेस्रो उम्मेदवार चयन गर्न पाउने व्यवस्था छ ।
पहिलो चरणको मतगणनामा वामपन्थी नेता दिसानायकेले ४२.३१ प्रतिशत मत, दोस्रो स्थानमा रहेका प्रेमदासाले ३२.७६ प्रतिशत मत पाएका थिए । दोस्रो कार्यकालका लागि दौडमा रहेका तत्कालीन राष्ट्रपति रनिल विक्रमासिङ्घेले भने १७.२७ प्रतिशत मत पाएका थिए । निर्वाचनमा ७० प्रतिशत मत खसेको थियो ।
प्रतिक्रिया