काठमाडौँ । गत शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेपछि नेपालका लागि इजरायलका राजदूत शुमलिक एरी बासले सुन्दरीजलस्थित बिपी संग्रालयको निरीक्षण गरेका छन् ।
इजरायल र नेपालबीचको ६४ वर्ष पुरानो कूटनीतिक सम्बन्धलाई अझ दिगो बनाउने तथा तत्कालीन प्रधानमन्त्री बिपी कोइरालाप्रति सम्मान प्रकट गर्न उहाँले संग्रालयको भ्रमण गरेका हुन् ।
इजरायली दूतावासले जारी गरेको विज्ञप्तिमा इजरायल–नेपाल सम्बन्ध स्थापनामा दिवङ्गत प्रधानमन्त्री कोइरालाको अतुलनीय योगदान रहेको चर्चा गर्दै दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ तुल्याउन आफू प्रतिबद्ध रहेको राजदूत बासले बताएको उल्लेख छ । उनलाई संग्रालयका अध्यक्ष पर्शुराम पोख्रेलले स्वागत गर्दै नेता कोइरालालाई नौ वर्ष बन्दी बनाइएको सुन्दरीजल जेललाई नै संग्रालयका रुपमा विकास गरिएको जानकारी दिए ।
इजरायलका तत्कालीन प्रधानमन्त्री डेभिड बेन्गुरियन र नेता कोइरालाको दूरदर्शी निर्णयले नेपाल र इजरायलबीच इजरायलको अन्तर्राष्ट्रिय सहायता नियोग ‘मसाभ’मार्फत कृषि, शिक्षा, स्वास्थ्यका साथै ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत नेपाली विद्यार्थीले व्यावहारिक कृषि कर्मबारे प्रशिक्षण लिँदै आएका छन् । इजरायल नेपाली श्रमिकहरुका लागि आकर्षक गन्तव्य हो ।
प्रतिक्रिया