देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कम्बोडियाका प्रधानमन्त्रीसँग सभामुख घिमिरेकाे शिष्टाचार भेट

देशान्तर

सभामुख देवराज घिमिरेले कम्बोडियाका प्रधानमन्त्री सम्देच हुन मानेट र त्यहाँकाे माथिल्लो सदन सिनेटका अध्यक्ष सम्देच हुन सेनसँग शिष्टाचार भेट गरेका छन् ।

प्रधानमन्त्री सम्देच हुन मानेटसँग कम्बोडियाको पिस प्यालेसमा भएको भेटमा दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने महत्वपूर्ण विषयहरूमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।

सभामुख घिमिरे हाल पाँचदिने भ्रमणमा क्रममा कम्बोडियामा छन् । त्यहाँका प्रधानमन्त्रीसँगकाे भेटमा सभामुख घिमिरेले नेपालको बुद्धको जन्मस्थल लुम्बिनी र कम्बोडियाको अंगकोरबाट हिन्दू तथा बौद्ध सम्पदाहरूलाई प्रवर्द्धन गर्न प्रत्यक्ष हवाई सेवा सुरु गर्नुपर्नेमा जोड दिए ।

यसले धार्मिक पर्यटन र सांस्कृतिक आदानप्रदानलाई थप प्रोत्साहन गर्ने सभामुख घिमिरेको विश्वास छ । नेपाल र कम्बोडियाबीच २०७५ सालमा नै हवाइ सम्झौता भएको थियो ।

प्रधानमन्त्री मानेटले साना राष्ट्रहरूको सहकार्यका लागि सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद (आईपीटीपी)को अन्तर-संसदीय सभा उत्कृष्ट मञ्च भएको बताउँदै आफू समय मिलाएर नेपाल भ्रमण गर्ने इच्छा व्यक्त गरे । भेटलाई दुई देशबीचको आर्थिक, सांस्कृतिक र कूटनीतिक सहकार्यलाई थप सुदृढ बनाउने महत्वपूर्ण अवसरको रुपमा हेरिएको छ ।

सभामुख घिमिरेले आइतबार साँझ नै माथिल्लो सदन सिनेटका अध्यक्ष सम्देच हुन सेनसँग भेट गरे । कम्बोडिया पिपल्स पार्टी मुख्यालयमा भएको भेटका क्रममा दुवै पक्षले दुई देशका विधायिकाबीच सम्बन्धलाई थप बलियो बनाउने विषयमा छलफल भएको थियो । भेटमा दुई देशबीचको दीर्घकालीन सम्बन्धलाई अझ सुदृढ बनाउने, संसदीय अभ्यास, क्षेत्रीय सहयोग र साझा चासोका विषयमा सहकार्यको सम्भावनाबारे छलफल भएको थियो ।

सभामुख घिमिरेले नेपाल भ्रमणको लागि कम्बोडियाका प्रधानमन्त्रीलाई औपचारिक निमन्त्रणा दिएका छन् । सभामुख मंगलबार साँझ स्वदेश फर्कने कार्यक्रम छ ।