देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जिसस ओखलढुङ्गा प्रमुखमा एमालेले कांग्रेसलाई समर्थन गर्ने

देशान्तर


काठमाडौं । जिल्ला समन्वय समिति ओखलढुङ्गाको प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नो उम्मेदवार नउठाउने भएको छ । तत्कालीन जिल्ला समन्वय प्रमुख डिल्लीराम खनालको डेढ वर्षअघि निधन भएसँगै रिक्त रहेको पदमा हुन लागेको उपनिर्वाचनमा नेपाली कांग्रेसलाई सहयोग गर्दै एमालेले उम्मेद्वार नउठाउने भएको हो ।


कांग्रेसले जिल्ला समन्वय समिति प्रमुखमा टेकराज भट्टराईलाई उम्मेदवार बनाउने भएको छ । उपनिर्वाचनअन्तर्गत मनोनयन दर्ताको अघिल्लो दिन नेपाली कांग्रेसको पार्टी कार्यालयमा बसेको सत्तागठबन्धन दल नेपाली कांग्रेस र एमालेको जिल्लास्तरीय बैठकमा कांग्रेसलाई समन्वय प्रमुखमा सघाउने र आफ्नो उम्मेद्वार नउठाउने विषयमा एमाले नेताहरु सहमत भएका हुन् । जिल्लाका आठ स्थानीय तहका १६ प्रमुख उपप्रमुखमध्ये कांग्रेसकोतर्फबाट पाँच पालिका प्रमुख र चार उपप्रमुख गरी नौ जनाले जितेका छन् । एमालेले एक पालिका अध्यक्ष, चार उपप्रमुखसहित पाँच, माओवादीले एक अध्यक्ष र जसपाले एक अध्यक्ष जितेका छन् । जिससका मतदाता नै पालिका प्रमुख उपप्रमुख मात्रै हुने भएकाले कांग्रेसको एकल बहुमत छ ।


जिल्लामा उपनिर्वाचन हुने मोलुङ–५ को वडाध्यक्षमा भने दुबैले स्वच्छ प्रतिस्पर्धा गर्ने भएका छन् । यसअघिका २०७४ र २०७९ का निर्वाचनमा यो वडा कांग्रेसले जितेको थियो । मोलुङ–५ का वडाअध्यक्ष गोपीकृष्ण कार्कीको निधन भएपछि रिक्त पदमा एमालेका गङ्गाबहादुर तामाङ र कांग्रेसका घनश्याम दाहाल मुख्य प्रतिस्पर्धी बनेका छन् । यो वडामा राप्रपा र रास्वपाले पनि उम्मेदवार उठाउने तयारी गरेका छन् ।