देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उपचुनाव दलहरूको लागि अग्निपरीक्षा

मुख्य दलहरूको सबैमा जित्ने दावी

देशान्तर


काठमाडौं । नियमित चुनावपछि बीचमा हुने उपचुनाव भनेकै राजनीतिक दलहरूको हैसियत जाँच्ने गतिलो माध्यम हो । सत्तारूढदेखि विपक्षी राजनीतिक दलहरूले के के काम गरिरहेका छन् त्यसका आधारमा जनताले मत दिने भएकाले बीचमा हुने उपचुनावलाई दलहरूले शक्ति परीक्षणको रूपमा लिएर नै तयारी गरिरहेका छन् । २०७९ मंसिरमा भएको आम निर्वाचनपछि संसदीयतर्फ चितवन, तनहुँ र इलाममा गरेर तीन वटा क्षेत्रमा उपनिर्वाचन भएका छन् । जसमा नयाँ उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले चितवन र तनहुँमा जित्दा इलामको चुनाव भने नेकपा एमालेले नै बाजी मारेको थियो । त्यतिबेलाको राजनीतिक समीकरण र अहिले धेरै फरक भएको छ । सबै संसद्का शीर्ष दलहरू एक्लाएक्लै चुनाव लड्ने निर्णय गरेर नै मंसिर १६ गते हुने स्थानीय तहको अभियानमा होमिएका छन् । यो उप चुनावले ठूला दल र नयाँ दलको हैसियत र आगामी आम निर्वाचनको स्थितिसमेत आकंलन गर्ने भएकाले दलहरूले प्रतिष्ठाको विषय पनि बनाएका छन् ।


विभिन्न कारणले पद रिक्त भएका जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि निर्वाचन हुँदै छ । उपनिर्वाचनमध्ये काठमाडांै क्षेत्र नम्बर १० मा पर्ने कीर्तिपुर नगरपालिकाको मेयर पदको उपनिर्वाचनलाई दलहरूले अलि बढी महत्व दिएका छन् । त्यसैगरी कीर्तिपुरकै वडा नम्बर १ र ४ मा वडाअध्यक्ष चयन गर्न उपनिर्वाचन हुनेछ । कीर्तिपुर यो त्यही क्षेत्र हो जहाँ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड २०६४ को पहिलो संबिधान सभा निर्वाचनमा विजयी भएका थिए भने उनै प्रचण्डलाई दोस्रो संविधानसभा निर्वाचन २०७० मा नेपाली कांग्रेसका राजन केसीसँग पराजित भएपछि राष्ट्रिय, अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको हेडलाइन नै बनेका थिए । २०७४ को आमनिर्वाचनमा पनि कांग्रेसका केसीले माओवादीका हितमान शाक्यलाई हराएका थिए ।
त्यसैगरी २०७९ को आम निर्वाचनमा पनि एमालेका हिमेश केसीलाई हराउँदै केसीले ह्याट्रिक गरेका थिए । नेपाली कांग्रेसका तर्फबाट कीर्तिपुर नगरपालिकाको मेयरमा निर्वाचित भएका राजकुमार नकर्मीको निधन भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो । कीर्तिपुर नगरपालिकामा कांग्रेसले क्लिन स्विप नै गरेको थियो ।

वडा नम्बर ४ बाहेक १ देखि १० नम्बर वडासम्मै कांग्रेसले जितेको थियो । वडानम्बर ४ मा कांग्रेसकै बागी उम्मेदवारले जितेका थिए । विगतमा कम्युनिस्टको गढको रूपमा मानिँदै आएको कीर्तिपुरमा पहिलो पटक नकर्मीले चुनाव जितेका थिए । यो उपनिर्वाचनमा कांग्रेसले आफ्नो विरासत कायम राख्न चाहन्छ भने अन्य दलहरू कांग्रेसको विरासत भत्काउन जोडबल गरेर लागेका छन् । उपनिर्वाचनका लागि आज आइतवार उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । नेपाली कांग्रेसले कीर्तिपुरको मेयरमा नगर सभापतिसमेत रहेका कृष्णमान डंगोललाई उम्मेदवार वनाउने निर्णय गरेको छ । यस्तै, एमालेले कीर्तिपुर नगरपालिकाको मेयरमा एमाले केन्द्रीय सदस्य डा. सुरेन्द्र मानन्धरलाई उठाउने भएको छ ।यसैगरी यस्तै माओवादी केन्द्रले मेयरमा प्रा.डा. शिवशरण महर्जन उम्मेदवार बनाउने घोषणा गरेको छ । रास्वपा पनि प्रतिस्पर्धामा छ । शनिबार अबेरसम्म एकीकृत समाजवादीले कीर्तिपूर नगरपालिका ४, वडाध्यक्ष– रीता खड्कालाई अघि सारेको छ तर उसले माओवादीसँंग तालमेलका लागि छलफल गरिरहेको छ । यस्तै, राप्रपाले कीर्तिपुर नगरपालिकामा इन्जिनियर ध्रुव महर्जनलाई मेयर पदको उम्मेदवार बनाएको छ । कीर्तिपुरमा मेयरसहित दुई १ र ४ वडाका अध्यक्षको पनि निर्वाचन हुँदैछ ।


उपनिर्वाचनका लागि आयोगमा २५ राजनीतिक दल दर्ता भएका छन् । उपनिर्वाचनका लागि आज आइतवार उम्मेदवारको मनोनयन दर्ता हुँदै छ । प्रमुख सत्ताधारी दल नेपाली कांग्रेसले ग्रामथान गाउँपालिकाको अध्यक्षमा बलराम सरदार, ओखलढुंगा जिल्ला समन्वय समितिको प्रमुखमा टेकराज भट्टराईलाई सर्वसम्मत उम्मेदवार बनाएको छ ।
सत्तारूढ दल नेकपा एमालेले स्थानीय तहको उपनिर्वाचनका लागि ४२ जना उम्मेदवारहरूको नाम टुंंगो लगाएको छ । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा तुल्सीराम विश्वासले टिकट पाएका छन् भने दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा उमा लुंगेली मगर शेर्पा उम्मेदवार बनाएको छ । एमालेले रुकुमपूर्वको पुथउत्तरगंंगा गाउँपालिकाको उपाध्यक्षमा केशकुमारी तुलाचनले टिकट दिएको छ । त्यसैगरी दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष पदका लागि जंगबहादुर शाहीलाई टिकट दिएको छ । जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा सुनिता बोहराले टिकट पाएकी छन् । यस्तै, नेकपा एकीकृत समाजवादीले ग्रामथान गाउँपालिका अध्यक्षमा दिलबहादुर विश्वकर्मा गढी गौरीशंकर गाउँपालिका उपाध्यक्षमा रविना खड्का बाजुराको स्वामी कार्तिक खापर गाउँपालिकाका उपाध्यक्षमा जवा शाहीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
उपनिर्वाचनका लागि आयोगमा २५ राजनीतिक दल दर्ता भएका छन् । स्थानीय तहको उपनिर्वाचनका लागि आइतबारदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । आचारसंंहिता निर्वाचन सम्पन्न नभएसम्मका लागि लागू हुनेछ । निर्वाचन आयोगको शनिबार बसेको बैठकले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १ को उपदफा (२) बमोजिम उपनिर्वाचन हुने सम्बन्धित जिल्लाभित्र निर्वाचन आचारसंहिता, २०७९ को सम्पूर्ण व्यवस्था लागू गर्ने निर्णय गरेको हो ।