काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री समेत रहेका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले कांग्रेसका सांसद राजेन्द्र बजगाईंमाथि कारबाहीको माग गर्दै पार्टी अनुशासन समिति र संसदीय दलमा उजुरी दिएका छन् । पाण्डेले आफूमाथि अमर्यादित, गैरकानूनी र अनर्गल आरोप लगाएको दाबीसहित हदैसम्मको कारबाहीको माग गर्दै उजुरी दिएका हुन् । पाण्डेले उजुरीमा मन्त्रीको शपथ ग्रहण भएको मितिदेखि नै शृंखलाबद्धरूपमा मन्त्रालयको कामकारबाही र आफ्नो व्यक्तिगत चरित्रको मानमर्दन गरेको पनि उल्लेख गरेका छन् ।
सांसद बजगाईंले टाइगरटप्सलाई क्यासिनो इजाजत दिँदा भ्रष्टाचार गरेको भन्दै मंगलबार सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । मन्त्री पाण्डेले आफूमाथि निराधार आरोप लागेकाले त्यसविरुद्ध कानुनी बाटो अपनाउने प्रतिक्रिया दिएपछि सांसद बजगाईंले सबै पोस्टहरू हटाएका थिए ।
आफू व्यक्तिगत र राजनीतिक जीवन दुवैलाई निष्ठा इमानदारी र नैतिकताको मार्गमा अविचलितरूपमा अगाडि बढाइरहेको दाबी गर्दै पाण्डेले कांग्रेस र शीर्ष नेतृत्वले देखाएको त्याग समर्पण र नैतिकताको बाटो पछ्याउँदै राजनीतिमा समर्पित भएको उल्लेख गरेका छन् ।
प्रतिक्रिया