काठमाडौं । आगामी जनवरीदेखि चितवनको सौरहामा पाँच तारे लक्जरी रिसोर्ट रोयल टुलिप रिसोर्ट सञ्चालनमा आउने भएको छ । युरोपकै दोस्रो ठूलो होटल ब्राण्डको व्यवस्थापन रहने रोयल टुलिप रिसोर्टको कोभिडका बेला शिलान्यास गरिएको थियो । करिब ३४ रोपनी क्षेत्रफलमा निर्माणाधीन रिसोर्टमा २२ वटा भवन छन्।
रिसोर्टमा १३ वटा एक तल्ले, पाँचवटा दुई तल्ले, तीनवटा तीन तल्ले र एउटा चार तल्ले गरी २२ वटा भिल्ला छन्। ती भिल्लामा स्विट लगायत विविध सुविधासहितका ६५ कोठा छन्। करिब डेढ अर्बको लागतमा केटिएम हस्पिटालिटीले रिसोर्ट बनाएको हो । हस्पिटालिटीका सञ्चालक रामेश्वर शाहका अनुसार रिसोर्ट निर्माणमा १ अर्ब ४७ करोड रुपैयाँ लगानी भएको र सञ्चालनमा आएपछि सौराहा मात्र नभइ मुलुककै पर्यटन प्रवर्धनमा टेवा पुग्ने छ ।
रोयल टुलिप हस्पिटालिटी व्यवसायमा विश्व बजारमा सफलता हासिल गरिरहेको बहुराष्ट्रिय फ्रान्सेली समूह लुभ्र होटल्स अन्तर्गतको एउटा ब्राण्ड हो । लुभ्र होटल्स युरोपकै दोस्रो ठूलो होटल ब्राण्ड हो । यसले विश्वका ६० भन्दा बढी देशमा १६ सयभन्दा बढी होटल सञ्चालन गर्दै आएको छ ।
निर्माण अन्तिम चरणमा पुगेपछि रिसोर्ट सञ्चालनमा ल्याउनका लागि कर्मचारी माग गरिएको छ । रोयल टुलिप रिसोर्टमा १२० जनाले प्रत्यक्ष रोजगारी पाउनेछन् । छनोट हुने कर्मचारीलाई लुभ्र होटल्सले नै तालिम दिएर नियुक्त गर्ने छ । रिसोर्टमा पुग्नेले डुंगा सयर, जलमहलको बास, स्विमिङ पुल, हेल्थ क्लब, स्पा, चिल्ड्रेन पार्क, एमपी थियटर पदयात्रा मार्ग, आफ्नै बेकरीसहितको ग्रिल बार र रेस्टुरेन्ट जस्ता सेवा पाउनेछन्।
प्रतिक्रिया