काठमाडौं । भारतको एक मन्दिरमा पटाका प्रदर्शनी भयानक विस्फोटमा परिणत भएपछि करिब एक सय जना अस्पताल भर्ना भएका र आठ जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । प्रहरीले घटनामा दुई जनालाई नियन्त्रणमा लिएको छ । भारतीय पत्रपत्रिकाहरूले पोस्ट गरेका भिडियोहरूमा देखाएअनुसार सोमबार साँझ दक्षिणी राज्य केरलाको नीलेश्वरमस्थित एउटा हिन्दू मन्दिर वरिपरि सयौँ मानिसहरू आतसबाजी हेर्न भेला भएका थिए ।
भारतीय सञ्चारमाध्यमहरूले अधिकारीहरूलाई उद्धृत गर्दै बाक्लो भीडमा रहेका मानिसहरूको अनुहार र हातमा जलन भएको बताएका छन् । स्थानीय सरकारी अधिकारी के इन्बासेखरले पटाका प्रदर्शनीका लागि कुनै अनुमति नदिइएकोबताएका छन् । द हिन्दू पत्रिकाले मन्दिरका अध्यक्ष र सचिवलाई हिरासतमा लिइएको जनाएको छ । भारतमा धार्मिक जमघटहरूमा सुरक्षा कमजोरी र भीड व्यवस्थापनमा कमीका कारण घातक घटनाहरूको दुःखद इतिहास छ ।
सन् २०१६ मा हिन्दू नयाँ वर्षको अवसरमा एक मन्दिरमा प्रतिबन्धित पटाका प्रदर्शनीमा भएको ठूलो विस्फोटमा कम्तीमा एक सय १२ जनाको मृत्यु भएको थियो । पटाकाले हानिकारक तीतो धुवाँ फैलाउँछ । राजधानी नयाँदिल्लीले खतरनाक वायु प्रदूषण रोक्न पटाकामा प्रतिबन्ध लगाएको छ । हिन्दू भक्तजनहरूको पटाकाप्रतिको बलियो धार्मिक भावनाका कारण प्रहरी प्रायः उल्लङ्घनकर्ताहरू विरुद्ध कारबाही गर्न अनिच्छुक हुन्छन् ।
प्रतिक्रिया