देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसका प्रतिनिधि गाउँगाउँमा

देशान्तर


काठमाडौं । असोज ११ र १२ भीषण वर्षाका कारण सिर्जित वाढीपहिरोले ठूलोमात्रामा जनधनको क्षति र राजमार्गहरूसमेत अवरुद्ध भएका कारण स्थगित नेपाली कांग्रेसको ‘१०० दिने विशेष अभियान’अन्तर्गत दशैंलगत्तै ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरू गाउँगाउँ पुग्न थालेका छन् । राजमार्ग र सहायक मार्गहरू सञ्चालनमा आउँदै गरेकाबाहेक अन्य जिल्लामा कार्यक्रमसमेत सुरु भइरहेको कांग्रेसका एक महामन्त्रीले देशान्तरलाई बताए । केन्द्रीय प्रतिनिधिहरूले जिल्ला सभापतिहरूसँग समन्वय गरी जिल्ला भेला, क्षेत्रीय भेला, प्रदेश भेला, नगर–गाउँ भेला गरिसकेका छन् भने तिहारलगत्तै वडा र टोल समितिहरूमा समेत भेला गराएर सदस्यता घरआँगन अभियान चलाउनेसम्मको कार्यक्रम रहेको कांग्रेसको भनाइ छ ।


यसै अभियानअन्तर्गत भक्तपुरमा प्रतिनिधिको रूपमा आएका नेपाली कांंग्रेसका प्रभावशाली नेता एवं केन्द्रीय सदस्य बलबहादुर केसीले जिल्ला, क्षेत्र, नगर, प्रदेश भेला गरिरहेको भक्तपुरका कांग्रेसका सभापति दुर्लभ थापाले देशान्तरलाई बताए । यसैअन्र्तगत सबै भेला सम्पन्न भइसकेकोमा आज आइतबार चाँगुनारायण नगरसमितिको भेला आयोजना गरिएको समेत उनले बताए । त्यसबाहेक जिल्लामा भइरहेका नेपाली कांग्रेसको अन्य कार्यक्रमहरूमासमेत केन्द्रीय प्रतिनिधि केसी निरन्तर सहभागी भएका छन् । केन्द्रीय प्रतिनिधिलाई यी—यी कार्य गर्नू भनेर कार्यादेशसमेत केन्द्रले पठाएको छ । त्यसमध्येमा प्रमुखताका साथ क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरण, सबै पार्टीका निकायहरूको नियमित बैठकको अनुगमन, भ्रातृ संस्थाहरूको अधिवेशन र क्रियाशीलता, पार्टी र निर्वाचित जनप्रतिनिधिको समन्वयको अनुगमन, स्थायी संयन्त्र निर्माण र पार्टीका निकायहरूमा रिक्त पदहरूको पूर्ति गर्नुपर्ने रहेको केन्द्रीय प्रतिनिधि केसीले बताए । पहिलो चरणको भेला र छलफलपछि तिहारलगत्तै वडा र टोल समितिमा समेत गएर अन्तरक्रिया गर्नेसमेत उनले जानकारी दिए ।