देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एमाले हाम्रो प्रतिस्पर्धी भएकाले आगामी निर्वाचनमा धेरै तयारी गर्नपर्छ : डा.कोइराला

देशान्तर

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी निर्वाचनमा सत्ता साझेदार दल नेकपा एमालेसँग प्रतिस्पर्धा गर्न कांग्रेसलाई थप तयारी आवश्यक रहेको बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै कोइरालाले पार्टीले आगामी निर्वाचन एक्लाएक्लै लड्ने निर्णय गरेको उल्लेख गर्दै यसका लागि उचित तयारी आवश्यक रहेकोमा जोड दिए।

उनले भनाइमा राजनीतिक दलहरूमा आफ्नो निकट व्यक्तिहरूलाई मात्र टिकट दिने चलनले समस्या निम्त्याएको र यसलाई रोक्नुपर्नेमा पनि ध्यानाकर्षण गराए। “अब टिकट बाँड्दा जित्न सक्ने व्यक्तिलाई मात्र प्राथमिकता दिनुपर्छ,” कोइरालाले भने, “हामीले पनि एमालेजस्तो संगठित दलसँग लड्न तयारी गर्नुपर्छ।”

कोइरालाले कांग्रेस र एमाले प्रतिस्पर्धी भए पनि राजनीतिक स्थिरताका लागि मिलेर सरकार चलाउनु परेको बताए। दुई वर्षका लागि प्रधानमन्त्री ओलीको नेतृत्वमा सरकार रहने र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा निर्वाचन गराउने सहमति रहेको कुरा पनि उनले स्पष्ट पारे।

“हाम्रो प्रमुख प्रतिस्पर्धी एमाले हो, तर हामीले सहकार्य पनि उसैसँग गर्नुपरेको छ। यो राजनीतिक स्थिरताका लागि आवश्यक छ, तर हामीले बाहिरबाट पनि प्रतिस्पर्धाको भूमिका निभाउनुपर्ने हुन्छ,” उनले भने।

कोइरालाले कांग्रेसलाई आगामी निर्वाचनमा एमालेसँग प्रतिस्पर्धा गर्न तयारीको महत्वलाई विशेष ध्यान दिनुपर्ने सन्देश दिएका छन्। एमालेजस्तो संगठित दललाई पराजित गर्नका लागि कांग्रेसले भित्री संगठनात्मक कमजोरीलाई सुधार्दै जित्न सक्ने उम्मेदवारलाई मात्र टिकट दिने सुनिश्चितता गर्नुपर्ने उनको धारणा रहेको छ।