देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मेरो देशको नियम कानुन


कानुनको यति धेरै कुरा किन हुन्छ यहाँ ?
म जस्तो असहायलाई सुनाउन
म त शतप्रतिशत सबैतिर कानुन भित्रको
कानुन मानेर बाँचेको मान्छे
म त बाँधिएकै छु चारैतिरबाट
बिहानदेखि बेलुकीसम्म; न घाम, न पानी
रातदिन काम गरेर उत्पादन गर्दा पनि
आँसु पिएर जीवन धानेको छु
खान पुग्ने आम्दानी छैन मेरो
बूढो बाउ आमा, प्रियतमा र दूधे बालकलाई छोडेर
बिदेसिन बाध्य पारिएको छु
तर अर्वपतिहरूले भन्दा बढी कर तिर्ने त मै हुँ
मेरै थाप्लामा थोपरिएको विभिन्न अप्रत्यक्ष करबाट
यो मुलुकको खर्च चलेको छ

मलाई नै कागती निचोरे जस्तो निचोरेर
निकालिएको पैसाबाट
शासकहरूको तामझाम, मौज मस्ती, व्यंग्य विनोद प्रियता
आरोप प्रत्यारोप, झुट, फरेबी, बेइमानी र राष्ट्रघात
कानुनभित्रको जालझेल, कानुन बाहिरको सेटिङ
बन्ने बिग्रिने यो मुलुकमा ‘नयाँ नेपाल’ बनाउन
यसैलाई मिल्दोजुल्दो कानुन
अझ पनि नमिले, मिल्दोजुल्दो संशोधन
भ्रष्टाचार पचाउन, घोर अपराधी बचाउन
राष्ट्रिय सम्पत्ति बिर्ता बाँडे सरह बाँड्न

यहाँको कानुन –
कहिले नुन नभएको, कहिले नुन चर्को
कहिले सुन ल्याउने, कहिले सुन पचाउने
कहिले क्याप लगाइएको
कहिले क्याप खोलिएको
नेताको गोजीको सुपारी जस्तो
जुन बेला पनि झिक्न मिल्ने
जुन बेला पनि क्वाप्प चपाउन मिल्ने
अनि चपाएर निल्न पनि मिल्ने
लोकतन्त्रको लागि भनेर
लिखितम् धनीको नाम जस्तो
बनी बनाएको एक चरण
जुनसुकै बेइमानी कर्मको शिरमा लेखिदिएपछि
लोकतन्त्रको उद्देश्य बोकेको हुने

संविधानभन्दा माथि कानुन
कानुनभन्दा माथि नियम
नियमभन्दा माथि मन्त्रिपरिषद्
त्योभन्दा माथि प्रधानमन्त्रीको हुकुम
आहार व्यवहारमा यो जताततै छताछुल्ल
नपत्याए हालैको राजदूतको नियुक्तिलाई हेरौं
बिल नतिर्नेको बिजुली जोड्दै
कर नतिर्नेको लाइसेन्स नवीकरण गर्दै हिँड्ने
सम्माननीय प्रधानमन्त्रीलाई सोधौँ
कुरा प्रस्ट नै छ नि !

संविधान चाहिएको प्रधानमन्त्री बन्नको लागि
जहाँ विदेशी दूत भाइसर्वाइ सरह
प्रधानमन्त्री बनेपछिको विदेश भ्रमण
ओहदाको प्रमाणपत्र पेस गरे सरह बन्दै गएको
कर्मकाण्ड रूपान्तरित रिवाज
लोकतन्त्रको निर्जीव आवाज
‘म्युजिकल चेयर’ खेलजस्तो शासकको कुर्सी

वाकपटुताको अपार क्षमताको भरमा
भरित पोषित लठैत मुसदण्डको संगठन
विधिले जसलाई डाँका मान्छ
‘कानुनसम्मत’ पारेपछि त्यो साका हुन्छ
यस्तैयस्तै शासकको साजबाज
मलाई निमोठेर पराइ पोस्ने
मलाई निचोरेर दलाल पुँजीपतिलाई
हट्टाकट्टा गराउने
मिलेर भाग शान्ति जय नेपाल गर्ने
शासन, प्रशासन, र पद्धति नै बन्दै गएको
मेरो देशको नियम कानुन ।