देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गरिबी निवारण कोषबाट कञ्चनपुरका तीन हजार परिवार लाभान्वित

देशान्तर

कञ्चनपुर । मुक्तकमैया, दलित तथा विपन्न समुदायको आयस्तर उकास्न कञ्चनपुरमा गरिबी निवारण कोषले लागू गरेको कार्यक्रमबाट तीन हजार ६७१ परिवार लाभान्वित भएका छन् । गरिबी निवारण कोषले एक दशकयता विपन्न समुदायलाई विभिन्न आय तथा रोजगारमूलक कार्यक्रममा हालसम्म रु चार करोड ८९ लाख रकम अनुदान विभिन्न समूह र सहकारीलाई प्रदान गरिसकेको छ ।

कञ्चनपुरमा नेपाल राष्ट्रिय समाजकल्याण सङ्गघ (एनएनएसडब्लूए) मार्फत कोषले यहाँका पाँचवटा नगरपालिकामा कार्यक्रम लागू गरेको छ । कोषको सहायताबाट विपन्न समुदायको आयस्तरमा वृद्धिका साथै सामाजिक रुपमा पनि उनीहरुको वृद्धिविकास भएको नेपाल राष्ट्रिय समाज कल्याण सङ्गघ (एनएनएसडब्लूए) गरिबी निवारण कार्यक्रमका संयोजक टेक बुढाले जानकारी दिए ।

कोषको छनोटमा परेका दलित, मुक्तकमैया र विपन्न समुदायमा सुरुवातमा कोषले विभिन्न समूह स्थापना गरी अनुदान दिएर समुदायलाई आवद्ध गराइ आयमूलक व्यवसायमा लाग्न प्रेरित गरेको थियो । रु चार करोड ८९ लाखबाट अहिले समूह र सहकारीले करिब रु सात करोड १७ लाखभन्दा बढी रकम जुटाइसकेका बताृदै, संयोजक बुढाले कोषको अनुदानले गरिबीको रेखामुनी रहेका समुदायमा ठूलो परिवर्तन ल्याइदिएको बताए ।

लामो समय साहुजनको कमैया बसेर मुक्त भएपछि सरकारले दिएको पाँच कठ्ठा जग्गामा श्रम खर्चेर परिवार पालिरहेका यहाँका विभिन्न मुक्तकमैया शिविर र करिब आठ सय दलित परिवार लाभान्वित बनेका छन् । कोषले सुरुवातमा व्यावसायिक तरकारी खेती, बंगुरपालन, कुखुरापालन, पशुपालन, खुद्रा व्यापारलगायत आयमूलक कामका लागि समूहमार्फत किसानलाई लगानी गरेको थियो ।

समूहमा आवद्ध भएर समूहकै सदस्य हुुनुका साथै बचत र ऋण लगानी समेत उनीहरु आफैँ गरिरहेका बताउदै, संयोजक बुढाले अहिले साइकल पसले, लाखौँंको घडेरीका मालिकदेखि मुक्तकमैया ट्रयाक्टर खरिदसम्म कमाएर गरिरहेका बताए । अधिकांश बस्तीमा गठन भएका सामुदायिक समूह विस्तारै सहकारीमा परिणत भइरहेका छन् । उनीहरुले समुदायमा व्यवसाय, अध्ययन, वैदेशिक रोजगारलगायतका शीर्षकमा ऋण लगानी पनि गरिरहेका छन् ।

एक सय ४७ वटा सामुदायिक समूह र १० वटा सहकारीसमेत सञ्चालनमा रहेको बताउँदै गरिबी निवारण कोषले कञ्चनपुरमा कोषको कार्यक्रम फलदायी भएको जनाएको छ । अहिले समूह र सहकारीमा आवद्ध भएर जग्गा समेत भाडामा लिई मुक्तकमैया तरकारीखेती गरेर मनग्य आम्दानी गरिरहेका छन् । कृष्णपुर नगरपालिका –४ किचाही शिविरमा रहेको कोष अन्तर्गतको चौधरी बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक शान्ति चौधरी गाउँमै सहकारी सञ्चालन गरेर किसानलाई बैंकको ऋण लिँदा भोग्नुपर्ने समस्याबाट मुक्त गरेको बताउँछन् ।

उनले विगतमा बैंक तथा वित्तीय संस्थाबाट मुक्तकमैयालाई ऋण लिन निकै सकस हुने गरेको सुनाए । अहिले मुक्तकमैया मात्रै ३४० जना शेयर सदस्य छन् । अहिले सहकारीले रु ८६ लाखको कारोबार गरिरहेको छ । किसान तरकारी खेतीलगायत व्यवसायमा लागेको र युवालाई अध्ययन तथा वैदेशिक रोजगारका लागि सहकारीबाट सहुलियतमा ऋण लेनदेन गर्न सहज भएको चौधरीको भनाइ छ । जिल्लामा गरिबी निवरण कोषबाट लाभान्वित हुनेमा दुई हजार ४०० परिवार जनजाती, आठ सय परिवार दलित र ३३३ परिवार अन्य समुदायका रहेका छन् ।