देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चर्चित टाइगर प्यालेस होटेल बन्द गराउने प्रपञ्च

देशान्तर


काठमाडौं । लामो समय बन्द रहेको रूपन्देहीको तिलोत्तमा–१५, स्थित पाँचतारे टाइगर प्यालेस रिसोर्टमा गत चैतदेखि क्यासिनो सञ्चालनमा आयो । त्यसका साथसाथै होटल पूर्ण सञ्चालनमा आएको सञ्चालकहरूले पत्रकार सम्मेलन गरेर खुसी व्यक्त गरे । तर पछिल्लो समय होटल बन्द गराउने उद्देश्यले विभिन्न प्रपञ्चहरू सुरु भएको सञ्चालकहरू स्वयम् दुःख व्यक्त गर्न थालेका छन् ।
गैरआवासीय नेपालीहरूको समूहले खरिद गरेको रिसोर्ट लामो समय सञ्चालनको अन्योलमा परेको थियो । पर्यटन सरोकारवाला र पाहुनाको सहभागितामा ‘टाइगर इज ब्याक’ नारासहित क्यासिनोको पुनः सुरुवात गरिएको भए पनि होटल बन्द गराउन ‘माफियाको चलखेल’ सुरु भएको सञ्चालकहरूले दुःखेसो गरेका छन् ।


‘दक्षिण एसियामै क्यासिनो खेलका लागि आर्जन गरेको ख्यातिलाई कायम राख्नेगरी रिसोर्ट पूर्ण सञ्चालनमा ल्याएका हौं । माफियाको चंगुलमा परेर करोडौंको घाटा व्यहोरेर लगानीकर्ता फर्किएको, कम्पनी बन्द भइसकेकालाई पुनः जोगाएका छौं । नेपाललाई अन्तर्राष्ट्रिय जगत्मा हुने बेइज्जत रोक्न गैरआवासीय नेपालीहरूले चुनौती सहेर लगानी गरेका हौं । तर पछिल्ला दिनमा पर्यटन क्षेत्रको प्रगति देख्न नसक्ने र समृद्धि नचाहने माफियाहरू सल्बलाइरहेका छन् । दुःख दिने प्रयासमा छन्,’ टाइगर प्यालेसका अध्यक्ष वुद्धि सुवेदीले भने ।
विभिन्न चुनौतीका बाबजुत होटल र क्यासिनो नेपालको कानुनअनुसार खरिद गरी नियमानुसार सञ्चालन ल्याएको तीन महिना नबित्दै केही माफियाहरू फेरि चलखेलमा लागेको आफूहरूले थाहा पाएको सुवेदीले बताए । विभिन्न अवरोधका कारण करिब चार अर्बभन्दा बढी लगानी गरेर खरिद गरेको टाइगर प्यालेस रिसोर्टमा सञ्चालित क्यासिनो गत साउन १ गतेदेखि बन्द छ । क्यासिनो बन्द हुँदा करिब चार सयको रोजगारी गुम्ने भएको छ भने करोडौको सरकारी राजस्व पनि क्षति भएको सञ्चालकहरूको भनाइ छ ।


‘केही माफियाहरूले मिडिया प्रयोग गरी राष्ट्रसेवक कर्मचारी तथा उच्च अधिकारीहरूलाई आर्थिक चलखेलको आरोप लगाउने, निराधार हल्ला फिँजाउने, झुटा र कपोकल्पित समाचार लेख्न लगाई मानमर्दन गरिरहेका छन् यो कुरा गलत हो,’ होटल सञ्चालक दीपक गौतमले भने, ‘आफैंले लेख्न लगाएका समाचार सामग्री केही अनलाइन सञ्चारमाध्यममा प्रकाशन गर्न लगाउने, सम्वन्धित अधिकारीलाई लिंक पठाएर त्रास फैलाउने, धम्की दिने काम भइरहेको प्रमाणहरू छन् । जसका कारण नियमानुसार पाउनुपर्ने क्यासिनोको लाइसेन्स रोकिएको छ,’ उनले थपे । कपोकल्पित र भ्रामक हल्ला फिजाउनेविरुद्ध आफूहरू कानुनी उपचारमा जाने उनले बताए ।
टाइगर प्यालेसले रोयल टाइगर रिक्रियसन प्रालिलाई लिजमा क्यासिनो सञ्चालन गर्न दिने गरी गत वैशाखमै सहमति प्रदान गरेको थियो । क्यासिनो अनुमति आवेदक कम्पनी रोयल टाइगर रिक्रियसन प्रालीले नियमानुसार प्रक्रिया पु¥याएर तोकिएको समयमा आवेदन दिएको पनि गौतमले जानकारी दिए । गत असार मसान्तसम्म एसएचएल म्यानेजमेन्ट सर्भिसेज प्रालिको नाममा क्यासिनोको लाइसेन्स रहेको थियो । जसमा सिल्भर हेरिटेज इनभेस्टमेन्ट प्रालिको ९० प्रतिशत र टाइगर काठमाडौं इन्भेस्टमेन्ट प्रालिको नाममा १० प्रतिशत सेयर रहेको उनले बताए ।


एसएचएल म्यानेजमेन्ट सर्भिसेज प्रालिले कोभिडका कारण लामो समयसम्म क्यासिनो सञ्चालन गर्न नपाउँदा सरकारलाई तिर्ने करिब ५१ करोड राजस्व तिर्न सकेको थिएन । त्यसका अलावा काठमाडांैमा सञ्चालित सांग्रिलाको क्यासिनोको भाडा, टाइगर प्यालेसमा सञ्चालित क्यासिनोको भाडा तथा अन्य बक्यौता गरी धेरै रकम तिर्नुपर्ने भएका कारण आफैंले क्यासिनो सञ्चालन गर्न नसक्ने अवस्था भएकाले सञ्चालकहरू क्यासिनो सञ्चालन नगर्ने निर्णयमा पुगेका थिए ।
एसएमएसके कम्पनी गत आर्थिक वर्षमा एक अर्ब २० करोड घाटामा थियो । सोही घाटापुर्ति गरी कम्पनी नाफामा लैजान कठिन भएको भन्दै सबै सेयरधनीको सहमतिमा साधारणसभाले कम्पनी बन्द गर्ने निर्णय गरेको थियो । साधारणसभामा सिल्भर हेरिटेज इन्भेस्टमेन्ट प्रालिको तर्फबाट सञ्चालकहरू बुिद्धसागर सुवेदी र दीपक गौतम तथा टाइगर काठमाडौं इन्भेस्टमेन्ट प्रालिको तर्फबाट सञ्चालक सदस्य सञ्चित श्रेष्ठको हस्ताक्षर रहेको थियो ।
साधारणसभाको सोही निर्णयबमोजिम एसएचएल म्यानेजमेन्ट सर्भिसेज प्रालिले आव २०८१।०८२ का लागि क्यासिनो नवीकरणको आवेदन गरेको थिएन भने रिसोर्ट सञ्चालक टाइगर वान कम्पनीलाई समयमै आफूले क्यासिनो सञ्चालन गर्न नसक्ने जानकारी दिएको थियो । १० प्रतिशत सेयर रहेको टाइगर काठमाडौं इन्भेस्टमेन्ट प्रालिका तर्फबाट सञ्चालक सदस्य श्रेष्ठले सरकारलाई बुझाउनुपर्ने राजस्व र अन्य दायित्व लिनुभन्दा एसएचएल म्यानेजमेन्ट सर्भिसेज प्रालिलाई बन्द गर्न अनुरोध गरेका थिए ।


उनकै प्रस्ताव अनुरूपमा एसएचएल म्यानेजमेन्ट सर्भिसेज प्रालि बन्द गर्न सञ्चालक सदस्यहरू सहमत भएको गौतमले बताए । ‘नेपालको नियम कानुनअनुसार काम गर्ने र नेपालको विकासमा टेवा पु¥याउन विदेशमा लगानी गर्दा तुरुन्तै मुनाफा लिन सक्ने अवस्थालाई छाडेर आफ्नै मातृभूमिमा लगानी गर्न आएका हौं । अध्यक्ष सुवेदीको अगुवाइमा इमान्दारीपूर्वक लाभकर र क्यासिनोको बक्यौताबापतको करिब ५५ करोड नेपाल सरकारलाई बुझाएका हौं । त्यतिमात्र होइन कोभिडको समयमा क्यासिनो बन्द भएर तलब नपाएका टाइगर प्यालेसका मजदुरको समस्यासमेत हल गरेका छौं । काठमाडौंमा रहेको होटेल सांग्रिला हाल सञ्चालनमा नभएका कारण त्यहाँका मजदुर समस्या समाधान गर्न कठिन भए पनि टाइगर वानमा भएको श्रमिक समस्या हल गरिसकेका छौं । तर यहाँ खराब खेल भइरहेको छ,’ सञ्चालक गौतमले सुनाए ।
यता अध्यक्ष सुवेदीले नियमित रूपमा व्यवसाय सञ्चालनमा आएमात्र अन्य समस्याहरू समाधान हुँदै जाने तर व्यवसाय नै बन्द गराएर देशले केही नपाउने बताए । व्यवसाय आफ्नो ठाउँमा छ, विदेशमा कमाएको रकम मातृभूमिमै ल्याएर लगानी गरौं भन्ने उद्देश्यले रिसोर्ट सञ्चालनमा ल्याएका हौं,’ उनले भने । बन्द हुन लागेको रिसोर्ट सञ्चालन हुँदा नेपालमा रोजगारी सिर्जना गर्न तथा पर्यटन उद्योगमार्फत मुलुकको आर्थिक विकासमा योगदान गर्ने कोसिसस्वरूप टाइगर प्यालेस रिसोर्टमा लगानी गरेको अध्यक्ष सुवेदीको भनाइ छ ।