देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मोती जयन्तीमा विश्वव्यापी गजल प्रतियोगिता

देशान्तर

काठमाडौं । नेपाली गजलको उन्नयनका निम्ति समर्पित संस्था नेपाल गजल प्रतिष्ठानले १५९औँ मोती जयन्तीको शुभअवसरमा विश्वव्यापी गजल प्रतियोगिता, २०८१ आयोजना गरेको छ । प्रतियोगितामा संसारभरका नेपाली गजलप्रेमीहरूलाई सहभागी हुन प्रतिष्ठानले आग्रह गरेको छ ।

प्रतियोगितामा सहभागी हुन चाहने गजलकारहरूले आफ्नो प्रतियोगी गजलको साथमा आफ्नो पूरा नाम, ठेगाना र सम्पर्क नम्बरसमेत उल्लेख गरी २०८१ साउन २५ गतेसम्म [email protected] मा पठाइसक्नुपर्ने बताइएको छ । प्रतियोगी गजल शुद्ध नेपाली भाषामा (देवनागरी लिपिमा) लेखिएको ५ शेरको हुनुपर्ने र कुनै पनि शेरमा गजलकारको नाम वा तखल्लुस् प्रयोग गर्न नपाइने साथै गजल पठाउँदा गजलको साथमा कुनै पनि भूमिका, आग्रह तथा अनुरोध समावेश नगर्न सूचित गरिएको छ ।

गजल पूर्णतः मौलिक हुनुपर्ने, कुनै पनि छापा तथा अन्य कुनै माध्यमबाट प्रकाशित र प्रसारित नभएको, कुनै पनि प्रतियोगितामा सहभागी नभएको हुनुपर्ने बताइएको छ । प्रतियोगी गजलको कुनै अंश वा पूरा भाग साभार गरिएको, छापिएको, प्रसारित भएको वा अन्य कुनै पनि प्रतियोगितामा सहभागी भएको पाइएमा यस प्रतियोगिताका लागि अयोग्य मानिने तथा विजयी रचनामा यस प्रकारको दाबी विरोध भई आएमा गजल खारेज गरी उत्कृष्टता क्रममा रहेको गजल विजयी मानिने जनाइएको छ।

उपरोक्त इमेल ठेगानामा प्राप्त भएका गजलहरू मात्र प्रतियोगी गजल मानिनेछ । एक जना प्रतियोगीले एउटा मात्र गजल पठाउन अनुरोध गरिएको छ । एउटै गजलकारको एकभन्दा बढी गजल सहभागिताका लागि प्राप्त भएमा पहिलो पटक प्राप्त एउटा गजललाई मात्र प्रतियोगी गजल मानिने छ । गजल मूल्याङ्कनका आधार विचार, शिल्प, शैली, व्याकरण भाषा हुने र गजलका आधारभूत सबै मान्यताहरूको पालना गरी रचना गरिएको गजल मात्र प्रतियोगिताका लागि योग्य मानिने बताइएको छ । गजल मूल्याङ्कनका लागि ३ जना गजल मर्मज्ञ निर्णायकहरूको गोप्य निर्णायक समितिसमेत रहेको छ ।

प्रतियोगितामा नेपाल गजल प्रतिष्ठान कार्यसमितिका सदस्यहरूबाहेक विश्वको जुनसुकै देश तथा क्षेत्रमा रहेका इच्छुक नेपालीभाषी गजलकारहरूले प्रतियोगितामा सहभागिता जनाउन पाउने छन् । प्रतियोगिताको नतिजा २०८१ भदौ १५ गतेका दिन सार्वजनिक गरिने बताइएको छ । प्रतियोगितामा सर्वोत्कृष्ट हुने विजेता गजलकारको गजलसङ्ग्रह प्रकाशन गरिनेछ । उत्कृष्ट ५ गजलकारहरूलाई प्रमाणपत्रद्वारा सम्मान गरिनेछ । विजयी गजलकारले प्रतियोगिता समापन भएको मितिदेखि ६ महिनाभित्रमा सङ्ग्रहका लागि आवश्यक गजलहरू आयोजक समितिले उपलब्ध गराउने ठेगानामा वा प्रतिनिधिलाई पठाइसक्नुपर्नेछ ।