केही समयअघि साहित्यपोस्टडटकममा महेश पौड्यालले लेखेको उनकै शब्दमा ‘पीपलबोटे निबन्ध’ले नेपाली साहित्य क्षेत्र तरंगित बन्यो । निकै धेरै स्रष्टाहरू उक्त लेख (खासमा त्यो निबन्ध, समीक्षा, समालोचना के हो, छुट्ट्याउन बाँकी रहेछ) छापिएपछि त्यसका पक्ष र विपक्षमा मोडिए । केही समीक्षक, समालोचक भनिने तथा भनिन रुचाउनेहरू पनि यसमा सहभागी भए ।
एउटा प्राज्ञिक बहसका रूपमा उक्त लेखलाई लिन सकिएको भए त्यसले नेपाली साहित्य र समालोचनाका क्षेत्रमा केही विशेष विषय र धार उठाउन सक्ने थियो भन्ने लाग्छ मलाई । यद्यपि, मसँग यसबारे ठोकुवा गर्न सक्ने ‘हैसियत’ अर्थात् प्राज्ञिक जगतको स्विकारोक्ति, समर्थन छैन ।
विषय र सन्दर्भमा सोही लेखलाई केन्द्रमा राखेर केही कुरा भन्नु छ ।
=समालोचना-समीक्षा भनेको पाठक (समीक्षक-समालोचक)को कुनै लेख, रचनामाथिको बुझाइ हो वा त्यसमा लेखककै आग्रह समालोचक-समीक्षकले लेखिदिनुपर्ने हो ?
=सिर्जना सार्वजनिक भइसकेपछि त्यसको परख-विश्लेषण र बुझाइका तरिका-कोणहरू एउटै, उस्तै, उही, समान आउनुपर्ने हो वा हरेक पाठक आफ्ना बुझाइमा स्वतन्त्र हुन्छ ?
=समालोचना-समीक्षा कृतिमा केन्द्रित मात्र हुन्छ कि कृतिकार पनि जोडिन्छ पृष्ठभूमिमा ?
=के यसो भन्दैमा समीक्षक-समालोचक सर्वेसर्वा हो ? समीक्षक-समालोचकलाई कसैको व्यक्तिगत जीवनमा छिर्ने अधिकार छ समीक्षा-समालोचनाका नाममा ?
=अनि, के हाल भइरहेको महेश पौड्याल र रञ्जु दाहालबीचको ‘समालोचना–प्रतिसमालोचना’ बहस अन्यथा हो ?
समग्रमा यी सबैको उत्तर के हो भने, हरेक पाठ, कृति वा सिर्जना बजारमा आइसकेपछि त्यो लेखकको सिरानीमा वा दराजमा रहिरहेको ठान्नु हुँदैन ।
बजारमा छरिएका सिर्जनालाई पाठकले आफ्नो गच्छेअनुसार बुझ्न र विश्लेषण गर्न स्वतन्त्र छन् ।
पाठकका बुझाइलाई ‘गलत बुझ्यौ’ भन्ने अधिकार लेखकमा हुँदैन । र, सबै पाठकलाई स्पष्टीकरण दिइरहन सम्भव पनि हुँदैन ।
कुनै पाठकले आफ्नो ढंग, विवेक र क्षमताअनुसार बुझ्छ भने त्यसमा प्रतिकार गर्नु लेखकीय धर्म होइन ।
रह्यो, लेखकको व्यक्तिगत सन्दर्भको कुरा ।
कुनै पनि पाठक, समीक्षक, समालोचकलाई कुनै लेखकका व्यक्तिगत स्वभाव, सम्बन्धलगायत विषयमा थाहा हुन सक्ला तर त्यसलाई कुनै सिर्जना, समीक्षा, समालोचनामा जोडेर उल्लेख गरिनु हुँदैन, यो सरासर बद्नियत हुन्छ ।
व्यक्तिगत जीवन, व्यक्तिगत गोपनीयता व्यक्तिको सबैभन्दा ठूलो सम्पत्ति हो । यसमा कतैबाट ठेस लाग्नु हुँदैन ।
तर, कसैले आफ्ना व्यक्तिगत जीवनका सन्दर्भहरूलाई सार्वजनिक रूपमा अभिव्यक्त गरेको वा प्रकट गरेको भए त्यस आधारमा मात्र टेकेर र त्यसकै सीमाभित्र रहेर पाठक, समीक्षक, समालोचकले बुझ्न तथा धारणा बनाउन सक्छ ।
यी मैले बुझेका कुरा भए । मैले बुझेकै कुरा सबैले बुझ्न जरुरी हुँदैन । मेरा यी बुझाइको प्रतिवाद पनि गर्न सक्नुहुन्छ । यसो हुँदा म मेरा बुझाइमा वा तपाईं तपाईंका बुझाइमा प्रस्ट हुन, सुध्रन सक्ने अवस्था हुन्छ ।
तर, यही मेरो बुझाइलाइ घनेन्द्र ओझाका नाममा तथानाम बकेर, लेखेर गालीगलौजका चाङ लगाइयो भने त्यहाँ अराजकता, असभ्यता र अत्याचार हुन सक्छ । यदि तर्कपूर्ण तवरले प्रतिवाद गरियो भने त्यसले प्राज्ञिक बहसको सुरुआत गर्छ र सबैको हितमा बहस बढ्छ ।
माथिको सन्दर्भलाई प्रस्ट्याउन यति पृष्ठभूमि बाँधेको हुँ ।
उल्लेखित सन्दर्भमा महेश पौड्यालले लेखे, ‘एउटै यात्रा, फरक फरक तथ्य ।’
त्यसमा भवानी खतिवडा र रञ्जु दाहालका डोल्पो यात्राका बारेका वर्णन समेटिएका पुस्तकबारे लेखिएको छ ।
खतिवडाको ‘आकाश ओढेको डोल्पो’ र दाहालको ‘डोहो डोहो डोल्पो’ माथि पौड्यालले लामै ‘तुलना’ गरेका छन् । ‘तुलना’ किनभने त्यो ‘तुलना’ महेश पौड्यालले गरेका हुन्, उनको विवेक र बुझाइले गरेको तुलना हो । यदि यी दुवै कृतिबारे घनेन्द्र ओझा वा अरू कसैले ‘तुलना’ गरे अर्कै ‘तथ्य’ भेट्टाउला ।
उक्त ‘तुलना’मा सरसर्ती हेर्दा खतिवडाका सबल पक्ष बढी, दाहालका दुर्बल पक्ष बढी देखिएछन् । यो पनि अस्वाभाविक होइन । यदि सबल र दुर्बल पक्ष केलाउने कसरत घनेन्द्र वा कसैले गरेको भए खतिवडाका दुर्बल पक्ष बढी भेट्न सक्थ्यो, दाहालका सबल पक्ष बढी भेट्न सक्थ्यो । यो पाठक (समीक्षक-समालोचक) सापेक्ष कुरा हो ।
अँ, कुनै स्थापित मानक र सिद्धान्तका आधारमा गरिएका समालोचना भए तिनमा धेरै समानता हुन सक्छन्, केही बन्धनहरू र सीमाहरूका कारण पनि समालोचक बहकिन र छिरलिन पाउँदैन । तर, आत्मपरक शैलीका ’पीपलबोटे निबन्ध’ भनिएका समीक्षा-समालोचनामा पाठकका बुझाइ र दृष्टिकोण स्वतन्त्र हुन सक्छन् । उल्लेखित लेखमा यस्तै भएछ ।
उक्त लेखलाई समीक्षा, समालोचना, निबन्ध के भन्ने ? भन्ने पनि बहसको पाटो हो । विश्वविद्यालयीय साँचोमा गरिँदै आएको समालोचनाको साँचो नै भत्काएर खुला शैलीमा गरिएका समालोचना प्राज्ञिक तहका समालोचनाका कोटीमा पर्लान् कि नपर्लान् ? यो अर्को पाटो हो ।
र, मूल कुरा केही समयअघि उल्लेखित लेख साहित्यपोस्टमा प्रकाशन भइसकेपछि मैले यही स्तम्भमा लेखेको थिएँ– समालोचक सधैँ सही हुँदैन, उसले सधैँ सबै पाठ वा कृतिलाई सही बुझ्दैन र सोहीअनुसार व्याख्या विश्लेषण गरेको हुन सक्छ । कृति वा पाठको सन्दर्भ वा आशयबाहिर बहकिन पनि सक्छ समालोचक-समीक्षक, जसका कारण उक्त कृति वा पाठ वा रचना र सर्जकसमेत ‘अन्याय’मा परेको महसुस हुन सक्छ ।
यस्तो अवस्थामा सर्जक वा लेखकले प्रतिकार-प्रतिजादमा समालोचक-समीक्षकसँग गालीगलौज वा आरोप–प्रत्यारोपमा उत्रिनु ‘प्रतिसमालोचना’ होइन, ’प्रतिकार-प्रतिवाद’ हो । र, त्यहाँ प्राज्ञिकता हुँदैन, असन्तुष्टि र गाली वा आलोचना बढी हुने खतरा हुन्छ ।
उल्लिखित महेश पौड्यालको ‘समालोचना’ (लेखककै शब्दमा ‘पीपलबोटे निबन्ध ।’)माथि ‘प्रतिसमालोचना’ ‘ट्याग’ जोडेर ‘डोहो डोहो डोल्पो’ पुस्तककी लेखक रञ्जु दाहालले साहित्यपोस्टडटकममै लेखेकी छन्, ‘कुतर्कहरूको विरुद्ध’ शीर्षकमा ।
यो ‘प्रतिवाद’पछि पुनः जागृत बन्यो नेपाली साहित्य-समालोचना क्षेत्र । यसले एउटा गहन सन्देश पनि दियो, त्यो हो– नेपाली साहित्य-समालोचना विकसित, समृद्ध र प्राज्ञिक रहेनछ भन्ने । किनभने उल्लिखित दुवै ‘समालोचना’, ‘प्रतिसमालोचना’को सैद्धान्तिक, मूल्यगत परख नगरी स्रष्टा-समालोचकहरू विभाजित बन्यौँ ।
यी विषयबारे फेरि चर्चा गरौँला । अहिले हामीले अब चाहेको ‘प्रतिसमालोचना’बारे केही बोलौँ ।
मैले पौड्यालको उक्त लेख छापिनेबित्तिकै प्रतिसमालोचनाको सन्दर्भ उठाएको हुँ । प्रतिसमालोचना ‘ट्याग’ राखेर आएको दाहालको लेखको अन्तर्यमा प्रतिसमालोचना भने रहेन । यसमा समालोचक पौड्यालप्रतिको आक्रोश बढी प्रस्तुत भएको देखियो जबकि पौड्यालले लेखेका विषय–सन्दर्भलाई काट्ने तथ्यहरूचाहिँ प्रतिसमालोचनाले खोजेको हुन्छ ।
पौड्यालले ‘तुलना’ गरेको दाबी गरेका उपरोक्त दुई कृतिभित्र छिरेर अर्को समालोचकले पौड्यालको समालोचना वा ‘पीपलबोटे निबन्ध’का रौँ चिरा तथ्यगत रूपमा केलाएर पौड्यालका ती कृति र कृतिभित्रका सन्दर्भबारेका बुझाइका कमजोरीबारे लेखिएको भए पो त्यो खास्सा ‘प्रतिसमालोचना’ हुने थियो कि भन्ने लाग्छ ।
तथापि, यो सन्दर्भले एउटा सुखद तरंग ल्याएकै छ । यसले प्राज्ञिक बहसको बाटो समात्नुपर्छ । प्राज्ञिक व्यक्तिहरू संलग्न बहसमा जात, धर्म, वर्ग, लिंग, वर्णको तुच्छ राजनीति नछिरोस्, स्वच्छ , स्वस्थ प्राज्ञिक बहस निरन्तर चलिरहोस् । वादे वादे जायते तत्वबोधः ।
प्रतिक्रिया