देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सहमति/असहमति




समालोचना/प्रतिसमालोचना
कहिलेकाहीँ समालोचनाका क्षेत्रमा गज्जबका बहस र ती बहसका तरंग आउने रहेछन् । सर्जकले गरेका सिर्जनाको चिरफार गर्न समालोचकहरू कर्द, कैंची र तरबारसमेत बोकेर बसिरहेका हुने रहेछन् ।
कर्द र कैंची बोकेकाहरूले सर्जक र सिर्जनालाई ‘टुच्च’ शल्यक्रिया गरेर सिलाइ गरिदिने रहेछन्, जसको ‘दुखाइ’ र असर सर्जकमा कम नै वा सहन सक्ने हुने रहेछ ।

तरबार नै चलाउने समालोचकले भने निश्चित भागमा मात्र नकाट्ने रहेछ । घाँटीको शल्यक्रिया सुरु गरेको सर्जनले ट्युमर÷घाउको फैलावट खोज्दै पेटको तल्लो भागसम्म पुग्ने रहेछ । यसो गर्दा ‘लहरोले पहरो तान्ने’ ‘खतरा’ बढी हुने रहेछ । यद्यपि, यस्तो खतराको जोखिम उठाउन धीर, असल र कुशल समालोचक अघि सर्छ ।
एकथरीको मत के छ भने, सर्जकले कति मिहिनेत गरेर सिर्जना गर्छ, समालोचक भनाउँदो उक्त सिर्जनामा गिर खेलेर आफ्नो अस्तित्व देखाउन हतारिन्छ ।
यो धारणा किन गलत छ भने, कुनै पनि सिर्जनालाई आमपाठकबीच पु¥याउन, चिनाउन र बुझाउन समालोचक नै चाहिन्छ । समालोचकले नै हो सिर्जनाका सबल (राम्रा) र दुर्बल (कमजोर) पक्षबारे भनिदिने । तर, हामीकहाँ ‘समालोचना’ शब्दभित्र रहेको ‘आलोचना’लाई भने धेरैले बेवास्ता गरिरहेका छन्, जसका कारण समालोचना भनेको प्रशस्तिगान वा बढाइचढाइ मात्र हो भन्ने बुझाइ छ । यो विलकुल गलत बुझाइ हो ।
अर्कातर्फ, ‘समालोचक’ भनिनेहरू पनि त्यही ‘आलोचना’लाई मात्र टिपेर सिर्जनाका सबल पक्षलाई बेवास्ता गरेर दुर्बल पक्षलाई मात्र खनीखोस्री गरिरहेका छन्, जुन अर्को अतिवाद हो । अझ ‘सिन्डिकेट’ वा आफ्नो समूहबाहिरकाको कमजोरी मात्र देख्ने, समूहभित्रकाको प्रशस्ति मात्र लेख्ने भन्ने विषय पनि गाइँगुइँ उठिरहन्छ ।
यस लेखोटमा यी सबै विषय सन्दर्भमा विस्तृतमा छिर्न सम्भव छैन । यसमा उठाउन खोजिएको कुरा चाहिँ ‘प्रतिसमालोचना’को हो ।
हामीकहाँ समालोचनामाथि नै समालोचना गर्ने चलन खासै देखिँदैन । कुनै सिर्जना वा कृतिमाथि प्रशस्त समालोचना भए पनि ती समालोचनालाई लिएर थप समालोचना नहुनुले सर्जक र सिर्जनामाथि ‘अन्याय’ भएको महसुस पनि हुने रहेछ ।
यो किन पनि भने, माथि भनिएझैँ कर्द, कैंची र तरबार बोकेका समालोचकहरूले सधैं सही ठाउँमै यी हतियार चलाउँलान् भन्न सकिँदैन । यति तथ्यमा विवाद गरिरहनुपर्दैन कि समालोचक पनि मानव हो, उसका पनि मानवीय गुण र स्वभाव हुन्छन् । मानिस स्वभावैले आग्रह, आशक्ति, आलोचना बोकेर बँचेको हुन्छ ।
यस कारण कुनै पाठ वा कृतिमाथि कसैले गरेको समीक्षा÷समालोचनालाई पूर्ण मान्न सकिँदैन । समीक्षा÷समालोचना जतिसुकै ‘वस्तुनिष्ठ’ भनिए पनि त्यो विशुद्ध वस्तुनिष्ठ हुँदैन÷हुन सक्दैन ।
हामीकहाँ समीक्षा र समालोचनालाई एउटै कोटीमा राखेर हेर्ने पनि गरिएको छ, जुन सही होइन । समीक्षा कुनै पाठ वा कृतिमाथिको छिपछिपे दृष्टि मात्र हो भने समालोचना विस्तृत तथा गहन हुन्छ । यही भएर विद्वत् वर्ग समालोचनातर्फ बढी केन्द्रित हुन्छ ।
यद्यपि, समालोचनाबारे प्राज्ञिक अध्ययन÷अध्यापन प्रशस्त भए पनि समालोचनाका विविध रूप, ढाँचा, प्रविधि र शैलीबारे उति विमर्श भएको पाइँदैन । यसको कारण विश्वविद्यालयले पढाएको भन्दा बाहिर हाम्रा समालोचकहरू जान नसकेको बताउँछन् केही लेखक÷समालोचकहरू स्वयं !
अब भने फरक ढाँचा र शैलीका समालोचनाहरू अभ्यासमा आउन थालेका छन् । महेश पौड्याल, रमेश प्रभात, रूपक अलंकार, घनेन्द्र ओझा आदिले यस्तो अभ्यास गरिरहेका पाइन्छन् । यसले नेपाली समालोचना परम्परालाई फरक बाटोमा हिँडाउन सक्ने अपेक्षा गर्न सकिन्छ ।
सँगसँगै यस्ता समालोचनाकै शल्यक्रिया गर्ने परम्परा अर्थात् प्रतिसमालोचना परम्परा पनि अब आवश्यक देखिन्छ । यसो भएमा कुनै पाठ र त्यसका सर्जकले ‘अन्याय’मा परेको महसुस गर्दैन भने समालोचकीय इमानदारी र बौद्धिक बहसले महत्व पनि पाउँछ ।