काठमाडौँ । असोज २ गते प्रदेश नं २ मा हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचन सफल बनाउने तर्फ केन्द्रित हुन नेपाली काँग्रेसले आफ्ना नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ ।
तेस्रो चरणको निर्वाचनमा पहिलो स्थानमा आउने रणनीतिका साथ काँग्रेसले विभिन्न तयारीस्वरुप आज सो विषयमा पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा नेता तथा कार्यकर्तालाई निर्वाचनमा केन्द्रित हुन भनिएको हो । यसअघि दुई चरणमा सम्पन्न स्थानीय तहका निर्वाचनमा पार्टी दोस्रो स्थानमा झरेपछि काँग्रेसले त्यसको क्षतिपूर्ति प्रदेश नं २ बाट लिने योजना सहित निर्वाचनमा जान निर्देशन दिईएको नेताहरुले बताएका छन ।
मंगलवार बिहानदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा शुरु भएको कार्यसम्पादन बैठकको छलफल आगामी निर्वाचनमा पार्टीको पक्षमा परिणाम ल्याउन केन्द्रित रहेको थियो । काँग्रेसले विगत निर्वाचनमा भएका कमजोरी सच्याएर समयमै पार्टीका आधिकारिक उम्मेदवार तय गर्ने, प्रभावकारी प्रचारप्रसार कार्यक्रम गर्ने, पार्टीभित्रका असन्तुष्टिलाई समयमै व्यवस्थापन गर्नेलगायत काम तत्काल सम्पन्न गर्ने पनि जनाएको छ ।
संविधान संशोधन प्रस्तावलाई अघि बढाउन पहल गर्ने, सम्बोधन भइसकेका मधेशका अन्य कतिपय मागका बारेमा जनतालाई जानकारी गराउने र निर्वाचनमा पार्टीका सबै संयन्त्र प्रभावकारी रुपमा परिचालन गर्ने बारेमा समेत बैठकमा छलफल भएको नेताहरुले बताएका छन ।
काँग्रेसले यसअघि तेस्रो चरणको स्थानीय तहको निर्वाचनका सन्दर्भमा यही साउन ५ र ६ गते प्रदेश नं २ का काँग्रेसका केन्द्रीय सदस्य, जिल्ला सभापति, जिल्ला सभापतिका निकटतम प्रतिस्पर्धी, सांसद, पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्री, पूर्व सांसद, क्षेत्रीय सभापतिलगायत नेताको काठमाडौँमा भेला गरेको थियो ।
भेलाले निकालेको निष्कर्षलाई साउन ९ गतेको पार्टीको केन्द्रीय समिति बैठकले सकारात्मक रुपमा ग्रहण गर्ने निर्णय गरेको थियो । पार्टीले निर्वाचनका तयारीका लागि हालै प्रदेश नं २ मा समेत बृहत् भेला गरिसकेको छ । काँग्रेसले सदैव समृद्ध मधेश र अधिकारसम्पन्न मधेशी जनताका पक्षमा रही काम गर्दै आएको र तराई–मधेशका सबै भावनासँग आत्मसात् गर्न दृढ संकल्प रहेको तथ्यलाई ध्यानमा राखी पार्टीका पक्षमा मतदान गर्न सबै मतदातामा आग्रहसमेत गरेको छ ।
प्रतिक्रिया