देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्री शेरबाहादुर देउवाले नारायणगढ–मुग्लिन सडक निरीक्षण गर्ने

देशान्तर

काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले नारायणगढ–मुग्लिन सडकको निरीक्षण गर्ने भएका छन् । बुधबार बिहान ९ बजे उनी अवलोकनमा जाँदै छन् । उनीसँगै भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायर र सम्बन्धित अन्य अधिकारी पनि जानेछन् ।

‘अहिलेसम्म भएको कामको प्रगति निरीक्षण गर्नुको साथै कामलाई तीव्रता दिन प्रधानमन्त्रीले निर्देशन दिनेछन,’ यातायातमन्त्रीका सञ्चार अधिकृत रमेश जोशीले भने ।

 

प्रधानमन्त्रीले दसैँ, तिहार, छठलगायत चाडपर्वअघि नै सडक सुचारु गर्न निर्देशन दिने तयारी गरेका छन् । अहिले राति ११ घन्टासम्म नारायणघाट–मुग्लिङ सडकखण्डमा सवारी आवागमन बन्द गरिएको छ । चाडपर्वसम्ममा पनि सडक सुचारु नभए यस वर्ष अघिल्ला वर्षको तुलनामा आवतजावत गर्न गाह्रो हुने सडक विभागका अधिकारीहरूको भनाइ छ ।
अहिले पहिलो प्राथमिकतामा राखेर सडक निर्माण भइरहेको विभागका प्रवक्ता दयाकान्त झाले बताए । यसअघि मंगलबार नै भौतिक पूर्वाधार तथा यातायातसचिव देवेन्द्र कार्की मुग्लिन–नारायणगढ सडक निर्माण क्षेत्रमा पुगिसकेका छन् ।

 

मुग्लिन–नारायणगढ सडकखण्डमा २५ असारदेखि रातको समयमा अनिश्चितकालीन बन्द गरिएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाले सवारीसाधनको किसिम र सडकको रुटअनुसार साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म बन्द गरिरहेको छ । यसको कारण दैनिक हजारौँ यात्रुले सास्ती खेप्नुपरिरहेको छ ।

 

सवारी सञ्चालन कार्य रातको समयमा ११ घन्टासम्म बन्द भइरहेको छ । संसद्को विकास समिति र जिल्ला प्रशासन कार्यालय चितवनको निर्देशनअनुसार सडकमा रात्रिकालीन समयमा सवारीसाधन प्रवेशमा पूर्ण रोक लगाइएको छ ।

 

सडक विभागका उपमहानिर्देशक तथा मुग्लिन–नारायणगढ सडक आयोजनाका संयोजक सञ्जयकुमार श्रेष्ठका अनुसार रातको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउने कार्य भदौ पहिलो सातासम्म लम्बिन सक्नेछ ।

 

यसअघि २४ असारसम्म निर्माणलाई तीव्रता दिने भन्दै दैनिक ६ घन्टा यातायात सञ्चालन गर्न बन्द गर्ने गरिएको थियो । गत १५ चैतदेखि दैनिक बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म सडक बन्द गरी काम गर्न सुरु गरिएको हो ।
१५ चैतअघि साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म मात्र बन्द गरेर दैनिक साढे ४ घन्टा काम गर्ने गरिएको थियो ।

 

नारायणगढतर्फबाट राजमार्ग छिर्ने यात्रुबाहक सवारी (बस, मिनीबस, माइक्रोबस, साना सवारीसाधनलगायत) साधनलाई साँझ ६ बजे दासखोला पुलमा रोकिने गरिएको छ । त्यस्तै, बिहान ४ बजे छाडिने व्यवस्था मिलाइएको छ । मालबाहक सवारीसाधन (ट्रक, लहरी, ट्रेलर, ट्रिपर, ट्यांकरलगायत) साधनलाई भने जुगेडी चौकीमा साँझ ६ देखि रोकिन्छ भने बिहान ४ बजे छाडिन्छ । यसैगरी मुग्लिनतर्फबाट राजमार्ग छिर्ने यात्रुबाहक सवारीसाधनलाई साँझ ७ बजे रोकिने र बिहान ५ बजे छाड्ने गरिएको छ ।

 

ती सवारीमध्ये काठमाडौंतर्फबाट आउने सवारीसाधनलाई मुग्लिन बजारमा र पोखरातर्फबाट आउने सवारीसाधनलाई आँबुखैरेनीमा रोकिन्छ । अर्को्तिर मालबाहक सवारीसाधनलाई साँझ ७ बजे रोकिने र बिहान ५ बजे छाड्ने गरिएको छ । मालबाहक सवारीमध्ये काठमाडौंतिरबाट आउनेलाई लेवाटारमा र पोखरातर्फबाट आउनेलाई आँबुखैरेनीमा रोक्ने गरिएको खबर आजको नयाँ पत्रिकाले छापेको छ ।