काठमाण्डौ । स्वास्थ्य क्षेत्रको सुधारका लागि बिभिन्न माग राख्दै आमरण अनसनमा बसेका त्रिवि शिक्षण अस्पतालका बरिष्ठ चिकित्सक डा.गोबिन्द केसीका प्रतिनिधि र सरकारी बार्ता टोली बिच शुक्रवार बार्ता हुँदैछ ।
विगत पाँच दिन देखि आमरण अनसनमा बसेको डा.केसीको स्वास्थ्य अवस्था बिग्रदै गएपछि सरकारले शिक्षा सचिव शान्तबाहादुर श्रेष्ठको संयोजकत्वमा बिहिवार बार्ता टोली गठन गरेको हो ।
चिकित्सा शिक्षा ऐन पारित र चिकित्सा शिक्षा क्षेत्रका अनियमितता रोक्नु पर्ने दुइ सुत्रिय माग राख्दै गएको सोमबार देखि केसी आमरण अनसनमा बसेका हुन ।
चिकित्सा शिक्षा र सेवा सुधारका ठोस माग राखेर बारम्बार सरकारको ध्यानाकर्षण गराउँदै आए पनि माग पुरा गर्न तर्फ सरकार उदासिन भएकाले केसीले फेरी अनसन शुरु गरेको बताएका छन ।
सरकारी बार्ता टोलिले बिहिवार केसीलाई भेट गरि वार्तामा बस्न आग्रह गरेको भए पनि केसीले आफ्ना प्रतिनिधि संग बार्ता गर्न आग्रह गरेपछि टोलीले शुक्रवार बार्ता गर्न लागेको हो ।
डा. केसीको प्रतिनिधिको रुपमा डा वाइपी सिंह, डा.रञ्जन सापकोटा र डा.जीवन क्षेत्री रहेका छन ।
यस्तै त्रिवि शिक्षण अस्पतालले अनशनरत केसीको स्वास्थ्यमा निगरानी गर्न सात सदस्यीय उपचार समिति समेत गठन गरेको छ ।
प्रतिक्रिया